Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा आयोग : विषयगत प्रश्नोत्तर (३ पुस २०८१, बुधबार)

  • Ajnabee Khadka
  • December 18, 2024
  • 1234

लोक सेवा आयोग : विषयगत प्रश्नोत्तर (३ पुस २०८१, बुधबार)

लोक सेवा आयोग : विषयगत प्रश्नोत्तर (३ पुस २०८१, बुधबार)

पृष्ठभूमि  

– आधुनिक लोकतान्त्रिक राज्यको सञ्चालन जनताबाट निर्वाचित प्रतिनिधिबाट हुने गर्छ । जनप्रतिनिधिले संविधानको मर्म र भावना प्रतिकूल नहुने गरी संसद् र सरकारमा रही नागरिक र मुलुकको हितमा कार्य सम्पादन गर्छन् । नीति र विधिबमोजिम शासन सञ्चालन गरी जनताका आवश्यकता र प्राथमिकता सम्बोधन गर्दै मुलुकलाई समुन्नतिको मार्गमा लैजानु यिनको मूल कर्तव्य हो । जनप्रतिनिधिको कर्तव्य पालनामा सघाउन राष्ट्रसेवकहरू (निजामती कर्मचारी, सेना, प्रहरी आदि) नियुक्त गरिन्छ । यिनीहरू निर्वाचनको माध्यमबाट नभई योग्यता, दक्षता र क्षमताको आधारमा नियुक्त हुन्छन् । राजनीतिक संस्थाबाट तर्जुमा गरिएका नीति र कानुनको कार्यान्वयन गरी मुलुकलाई प्रगति पथमा हिँडाउन प्रशासनिक संस्थाहरू योग्य र सक्षम हुनु पर्छ । योग्य र सक्षम निजामती कर्मचारीको नियुक्तिका लागि सिफारिस गर्न नेपालको संविधानमा लोक सेवा आयोगको व्यवस्था गरिएको छ । मुलुकभित्र र बाहिरका विद्यालय वा विश्वविद्यालयबाट तोकिएको विषयमा तोकिएको डिग्री हासिल गरेका नेपाली नागरिकबिच तीव्र प्रतिस्पर्धा गराई उपयुक्त पात्र चयन गर्न लोक सेवा आयोगले कार्य सम्पादन गर्दै आएको छ ।

लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोग  

– नेपालको संविधानको भाग २३ मा एक स्वतन्त्र संवैधानिक निकायको रूपमा लोक सेवा आयोगको व्यवस्था गरिएको छ । यसको कार्यसम्पादनलाई निर्देशित र व्यवस्थित गर्न देहायका कानुन तथा योजना जारी भएका छन् ।

– लोक सेवा आयोगको दोस्रो रणनीतिक योजना –२०७९/८०–२०८३/८४)

– लोक सेवा आयोग ऐन, २०७९ र नियमावली, २०७९

– लोक सेवा आयोग –कार्य सञ्चालन) निर्देशिका, २०७९

– पाठ्यक्रमसम्बन्धी मापदण्ड, २०७९ –सुरक्षा निकाय, अन्य सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाका लागि) 

– सङ्गठित संस्थाका कर्मचारीको सेवाका सर्तसम्बन्धी कानुन, बढुवा र विभागीय कारबाहीसम्बन्धी सामान्य सिद्धान्त, २०७४

– लोक सेवा आयोगका पदाधिकारी एवं दक्ष/विज्ञ र कर्मचारीहरूको आचारसंहिता, २०६९

– मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा रूपान्तरण भएपश्चात् तीन तहका सरकारबाट राज्यशक्तिको अभ्यास हुँदै आएको छ । प्रदेश सरकार र स्थानीय सरकारका लागि योग्य र सक्षम कर्मचारी छनोट गर्न प्रदेश लोक सेवा आयोगको व्यवस्था गरिएको छ । प्रत्येक प्रदेशमा एक प्रदेश लोक सेवा आयोग रहने र सोको गठन, काम, कर्तव्य र अधिकार प्रदेश कानुनबमोजिम हुने तथा प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धमा सङ्घीय संसदले आधार र मापदण्ड निर्धारण गर्न सक्ने व्यवस्था संविधानमा रहेको छ ।

– लोक सेवा आयोग तथा प्रदेश लोक सेवा आयोगहरूबाट सञ्चालित प्रतिस्पर्धात्मक परीक्षामा सफल हुन लिनुपर्ने रणनीतिहरू 

१.  लोक सेवा आयोगका परीक्षासम्बन्धी आधारभूत पक्षको जानकारी लिई आफूलाई तयार पार्ने 

क)  आयोगको वेबसाइट (www.psc.gov.np) बाट आयोगसम्बन्धी विविध विषयको जानकारी लिन सकिन्छ । प्रदेश लोक सेवा आयोगहरूको हकमा समेत वेबसाइट खोजी गरी आवश्यक जानकारी लिन सकिन्छ ।

ख)  वार्षिक कार्यतालिका : आयोगले आर्थिक वर्षको सुरु महिनामा सो आर्थिक वर्षमा सम्पादन गर्ने काम उल्लेख गरी वार्षिक कार्यतालिका प्रकाशन गर्ने गर्छ । यसैको आधारमा आफ्नो तयारी अगाडि बढाउन सकिन्छ ।

ग)  दरखास्त आह्वानको सूचना : लोक सेवा आयोग तथा प्रदेश लोक सेवा आयोगहरूले वार्षिक कार्यतालिका अनुसार रिक्त पदहरूमा पदपूर्तिका लागि दरखास्त आह्वानको सूचना प्रकाशित गर्छन् । सूचनालाई धैर्यतापूर्वक अध्ययन गरी परीक्षा कार्यक्रमको विविध पक्षको जानकारी लिनु पर्छ ।

घ)  दरखास्त दिने : आफ्नो योग्यता अनुसारको पदमा तोकिएको दस्तुर तिरी तोकिएको अवधिभित्र दरखास्त दिन सकिन्छ । दरखास्त लिनका लागि आयोगले अनलाइन प्रणाली विकास गरी प्रयोगमा ल्याएको छ । दरखास्त दिन इच्छुक व्यक्तिले आयोगको अनलाइन दरखास्त पोर्टलमा गई आफ्नो व्यक्तिगत विवरणहरू भरी दरखास्त दिन सक्छन् । अनलाइन प्रणालीमा आवेदन स्वीकृत भएपश्चात् प्रणालीबाट आफ्नो प्रवेशपत्र डाउनलोड गरी प्राप्त गर्न सकिन्छ । अनलाइन प्रणालीमा सिर्जना भएको आफ्नो मास्टर आइडी टिपोट गरी सुरक्षित गर्दा राम्रो हुन्छ । दरखास्त दिनुपूर्व देहायका विषयहरू ख्याल गर्नु पर्छ ।

– दरखास्त दिनका लागि न्यूनतम वा अधिकतम उमेर हद,

– निर्धारित सेवा समूह, उपसमूह, श्रेणीलाई आवश्यक शैक्षिक योग्यता –न्यूनतम, अधिकतम),

– विशेष योग्यता,

– दरखास्त दिने मिति, 

– परीक्षा मिति, समय र परीक्षा केन्द्र,

– परीक्षाका लागि आवश्यक दस्तुर,

– आवश्यक कागजातहरू निक्र्योल गरी सोको व्यवस्थापन,

– विज्ञापनमा आफू उम्मेदवार हुनका लागि कुनै विशेष कागजात आवश्यक पर्छ वा पर्दैन ? जस्तै : समावेशी समूहमा आदिवासी/जनजाति, मधेशी, दलित, अपाङ्ग, पिछडिएको क्षेत्र आदि स्पष्ट हुने आधार र सिफारिस ।

ङ) परीक्षाको किसिमको जानकारी : आफूले आवेदन दिएको पदका लागि सञ्चालन हुने परीक्षाका प्रकारहरू जानकारी लिनु पर्छ । सेवा, समूह, उपसमूह, श्रेणी/तह तथा प्राविधिक/अप्राविधिक पद अनुसार लोक सेवा आयोगले सञ्चालन गर्ने परीक्षाको किसिम पनि फरक फरक हुने गर्छन् । लिखित –वस्तुगत र विषयगत), कम्प्युटर सिप परीक्षण, सामूहिक परीक्षण, इनवास्केट एक्सरसाइज, मामिला प्रस्तुतीकरण, अन्तर्वार्ता गरी विभिन्न प्रकारका परीक्षणहरू हुने गर्छन् । परीक्षाको प्रकारको जानकारी लिई सोहीबमोजिम सुरुबाटै तयारी थाल्नु पर्छ ।

२.  परीक्षा केन्द्रित अध्ययन गर्ने 

क)  पाठ्यक्रमको जानकारी : पाठ्यक्रमको विस्तृत जानकारी लिने र अध्ययनको मुख्य आधार नै पाठ्यक्रमलाई बनाएर पढ्दा परीक्षा केन्द्रित पढाइ प्रभावकारी हुन्छ ।

ख)  पाठ्यपुस्तक छनोट : लोक सेवा आयोगले पाठ्यक्रम तयार गरी प्रकाशन गर्छ तर पाठ्यपुस्तक निर्माण गर्दैन । बजारमा थुप्रै पाठ्यपुस्तक उपलब्ध हुन्छन् । पाठ्यक्रममा आधारित भई तयार गरिएका विश्वसनीय लेखकका पाठ्यपुस्तक छनोट गरी तयारी गर्न सकिन्छ । विषयगत र वस्तुगत परीक्षाका लागि अलग अलग पाठ्यपुस्तक छनोट गरी अध्ययन गर्नुपर्ने पनि हुन सक्छ ।

ग)  पुराना प्रश्नपत्रले अध्ययनका लागि मार्गदर्शन गर्छन् । पुराना प्रश्नपत्रको खोजी, सङ्कलन र अभ्यास गरी तयारीलाई परीक्षा केन्द्रित बनाउन सकिन्छ । 

घ)  संविधान, विषयगत नीति तथा कानुन, आवधिक योजना र सरकारी दस्ताबेजको अध्ययन गर्ने । संवैधानिक निकायका वार्षिक प्रतिवेदनहरूले नीतिगत तथा कार्यान्वयन तहमा गर्नुपर्ने सुधारका लागि सुझाव दिने हुनाले यी सुझावहरू विषयगत परीक्षाको तयारीको लागि सहयोगी हुन सक्छन् । त्यस्तै गरी विभिन्न सरकारी अध्ययन प्रतिवेदन पनि अध्ययनका लागि महìवपूर्ण सन्दर्भ सामग्री हुन सक्छन् । सूचना तथा सञ्चार मन्त्रालयबाट नियमित रूपमा प्रकाशन हुने नेपाल परिचय किताबलाई पनि सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्न सकिन्छ ।

ङ)  पाठ्यक्रमसँग सम्बन्धित विषयमा केन्द्रित भई इन्टरनेट र सामाजिक सञ्जालबाट समेत सूचनाहरू सङ्कलन गर्न सकिन्छ । यस प्रकारका सूचनाको थप पुष्टीकरण गरेर मात्र प्रयोग गर्नुपर्ने हुन सक्छ । खोजी गरी पढ्ने बानीले सिकाइलाई फराकिलो र दिगो बनाउँछ ।

च)  समसामयिक विषयलाई क्रमिक रूपमा टिपोट गरी अध्ययन गर्ने बानी बसाल्नु राम्रो हुन्छ । यसले सम्झनालाई दिगो बनाउन सहयोग गर्छ । रेडियो, पत्रपत्रिका, सामाजिक सञ्जाल, साथी समूह, सार्वजनिक स्थल भ्रमण तथा अवलोकन आदिबाट प्राप्त सूचनाहरू पाठ्यक्रमसँग सम्बन्धित र महत्वपूर्ण लागेमा टिपोट गरिहाल्नु पर्छ । 

३.  लेखन सीपको विकास गर्ने 

– विषयगत परीक्षाका लागि लेखन सिप र प्रस्तुतीकरण शैलीको महत्वपूर्ण स्थान रहन्छ । विषयवस्तु बोध गर्ने क्षमता पहिचान र मसौदा सिप परीक्षण गर्नसमेत विषयगत परीक्षा र लेखन सिपको महत्व छ । परीक्षार्थीले लेखन सिप र शैलीमा सुधार गर्न देहायबमोजिम गर्न सक्छन् :

क)  लेखेर पढ्ने बानी बसाल्ने : पाठ्यक्रममा उल्लेख भएका विषयवस्तुलाई गहिरोसँग अध्ययन गर्ने र अध्ययनको क्रममा आफूले बुझेका कुरालाई क्रमिक रूपमा टिपोट गर्दै जाने । विषयवस्तुलाई बुझेर पढ्ने । टिपोट गरेका सान्दर्भिक र महìवपूर्ण कुरालाई लेखन अभ्यासको क्रममा प्रयोग गर्ने ।

ख)  नोट तयार गर्ने : विषयवस्तु अनुसार त्यसका अवधारणागत पक्ष, सैद्धान्तिक पक्ष, नीतिगत तथा कानुनी व्यवस्था, वर्तमान अवस्था, समस्या र चुनौती तथा समाधानका उपायलगायतका विषय सङ्क्षिप्तमा उल्लेख गरी नोट तयार गर्न सकिन्छ । आवश्यकता अनुसार सोसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास र राष्ट्रिय परिवेशको पनि जानकारी राख्नु उचित हुन्छ । आफूले तयार गरेको नोटलाई अद्यावधिक पनि गर्दै जान सक्ने गरी नोटमा खाली ठाउँ राख्न सकिन्छ ।

ग)  तयारी कक्षा र साथी सङ्गत : आवश्यकता र अनुकूलता हेरी लोक सेवा तयारी कक्षामा सहभागी पनि हुन सकिन्छ । मन मिल्ने साथीसँगको सङ्गत बढाई तयारीलाई व्यापक बनाउने र आफूले लेखेका कुराहरू साथीबाट मूल्याङ्कन गराउन पनि सकिन्छ ।

घ) नमुना प्रश्न र नमुना परीक्षा अभ्यास : वस्तुगत र विषयगत तयारी गर्दा पाठ्यक्रममा आधारित प्रश्न सेटहरू खोजी गरी स्वयम् अभ्यास गर्न सकिन्छ । आजकल इन्स्टिच्युटमा गई नमुना परीक्षामा सहभागी हुने चलन पनि छ । उपत्यका बाहिर यस प्रकारका अवसरहरू सीमित हुने हुँदा सरकारी सेवामा रहेका अग्रजहरूबाट आफ्नो उत्तरपुस्तिका मूल्याङ्कन गराउन पनि सकिन्छ । परीक्षाकै झल्को दिलाउने गरी सञ्चालन हुने नमुना परीक्षामा सहभागी हुँदा लेख्ने बानीको विकास हुने, अन्य प्रतिस्पर्धीसँग आफ्नो अवस्था तुलना गर्न सकिने, पृष्ठपोषण प्राप्त गर्न सकिने तथा धैर्यता, हौसला र आत्मविश्वाससमेत बढ्न सक्छ ।

४.  परीक्षा केन्द्रमा उच्च मनोबलका साथ प्रस्तुत हुने 

क)  समय अगावै परीक्षा केन्द्रमा पुग्ने : लोक सेवा आयोगको परीक्षा केन्द्र निर्धारणसम्बन्धी सूचना राम्रोसँग हेरी आफ्नो परीक्षा केन्द्र यकिन गर्नु पर्छ । आफ्नो प्रवेशपत्रसहित परीक्षा हुने दिन परीक्षा हुने समयभन्दा कम्तीमा एक घण्टाअगाडि नै केन्द्रमा पुग्नु पर्छ । 

ख)  परीक्षा हल प्रवेश गरी स्थान पहिचान गर्ने : परीक्षा हलमा सामान्यतया आधा घण्टाअगाडि प्रवेश घण्टी लाग्ने गर्छ । यसरी हल प्रवेश गरेपछि आफ्नो कोठा खोजी गरी हतार बिना नै आफ्नो विवरणहरू उत्तर पुस्तिकाहरूमा भर्न, शान्त भई बस्न र परीक्षाको बारेमा सोच्न सजिलो हुने भएकाले कम्तीमा एक घण्टाअगाडि परीक्षा केन्द्रमा पुग्न उपयुक्त हुन्छ ।

ग)  कालो मसीको प्रयोग : आयोगको सूचनामा उल्लेख भएबमोजिम कालो मसीको मात्र प्रयोग गर्नु पर्छ । 

घ)  उत्तरपुस्तिकामा तोकिए अनुसारका सम्पूर्ण विवरण भर्ने र कुनै कुरा अस्पष्ट भएमा परीक्षा कोठामा खटिएका निरीक्षक तथा कर्मचारीलाई सोध्नु पर्छ ।

ङ)  परीक्षार्थीले पालना गर्नुपर्ने विषयवस्तुका बारेमा उत्तरपुस्तिका तथा प्रवेशपत्रमा उल्लेखित सम्पूर्ण विवरण ध्यान दिएर पढ्नुपर्दछ ।

च)  प्रश्नपत्र हातमा परेपछि प्रश्नपत्रमा उल्लेखित निर्देशनहरू सर्सती पढ्ने र सोही अनुरूप गर्ने । वस्तुगत प्रश्नहरूको हकमा उत्तर पुस्तिकामा कि अनिवार्य लेख्ने र विषयगत प्रश्नहरूको हकमा खण्ड भएमा खण्ड अनुसार सोही उत्तरपुस्तिकामा उत्तर लेख्ने । कुनै प्रश्नको खेस्रा गर्नु परेमा प्रश्नमा नै गर्ने । 

छ)  प्रश्नको भार र समय यकिन गरेर जवाफ लेख्ने । प्रतिस्पर्धात्मक परीक्षामा समय व्यवस्थापनको अति नै महìव रहने हुँदा समयप्रति सचेत रहँदै लेख्नु पर्छ ।

ज)  सकेसम्म केरमेट नगरी उच्च आत्मविश्वासका साथ प्रश्नले मागेको उत्तर लेख्ने । सफा, स्पष्ट र बुझिने अक्षरमा जवाफ लेख्ने । साह्रै सानो र बुझ्न कठिन हुने अक्षर नलेख्ने । मार्जिन छाडेर उत्तर लेख्नेमा उत्तरपुस्तिका आकर्षक देखिन्छ । यस प्रकारको लेखाइले जाँचकीलाई प्रभावित पार्न सक्छ । 

५.  अन्य परीक्षणका लागि तयार रहने 

– लिखित परीक्षाको नतिजा प्राप्त भएपश्चात् मात्र सिप परीक्षण, सामूहिक छलफल, इनबास्केट एक्सरसाइज, मामिला प्रस्तुतीकरण र अन्तर्वार्ता हुने गर्छन् । तथापि लिखित चरणको तयारीबाट नै यी परीक्षणका विषयमा समेत जानकारी लिई तयारी गर्नु राम्रो हुन्छ । उदाहरणका लागि कम्प्युटर सिप परीक्षणका लागि परीक्षार्थीले रातारात कम्प्युटर सिप हासिल गर्न नसक्ने पनि हुन सक्छ । त्यसैले कम्प्युटर टाइपिङ र अन्य आधारभूत विषयको सिप सँगसँगै विकास गर्नु उचित हुन्छ । त्यसबाहेक अग्रजहरूसँग सम्पर्क गरी अन्य परीक्षणका विषयमा पनि जानकारी राख्नु उचित हुन्छ । 

६.  अन्तर्वार्ताको तयारीसहित प्रभावशाली रूपमा प्रस्तुत हुने :

– लोक सेवा आयोगका परीक्षाको अन्तिम खुड्किलो अन्तर्वार्ता हो । यसका लागि लोक सेवा आयोगका पदाधिकारी र विषय विज्ञसहितको अन्तर्वार्ता समिति गठन हुन्छ । अन्तर्वार्तामा सहभागी हुने उम्मेदवार अन्तर्वार्ता हुनुभन्दा एक घण्टा अगावै तोकिएका कागजातसहित आयोगको कार्यालयमा पुगी भौतिक र मानसिक रूपमा अन्तर्वार्ताका लागि तयार रहनु पर्छ । साथै देहायबमोजिम गरेर अन्तर्वार्तामा प्रभावशाली रूपमा प्रस्तुत हुन सकिन्छ ।

क)  पूर्वतयारी : पाठ्यक्रमसँग सम्बन्धित विषयको सामान्य जानकारी, समसामयिक विषयको जानकारी, आफ्नो शैक्षिक पृष्ठभूमि र कामको बारेमा सामान्य जानकारी राख्ने । समसामायिक घटनाप्रति आफ्नो दृष्टिकोण बनाइराख्ने । अन्तर्वार्ता हुने दिनको प्रमुख राष्ट्रिय दैनिक पत्रिकाको हेडलाइन ख्याल गर्ने ।

ख)  पोसाक चयन : औपचारिक, सफा र सहज देखिने पोसाक चयन गर्ने ।

ग)  अन्तर्वार्ता कक्षमा प्रवेश : भित्र प्रवेश गरेपश्चात् सबैप्रति आदरभाव प्रकट गर्ने र बस्ने सङ्केत प्राप्त भएबमोजिम सम्बन्धित कुर्सीमा बस्ने ।

घ)  सङ्क्षिप्त परिचय : नाम, ठेगाना, शैक्षिक पृष्ठभूमि, कार्य अनुभव र हालको अवस्था बताउने ।

ङ)  प्रस्तुति : हँसिलो र आत्मविश्वासी मुद्रामा प्रस्तुत हुने । प्रश्नलाई ध्यान दिई सुन्ने । प्रश्न नबुझेमा विनम्रतापूर्वक प्रश्न दोहो¥याउन अनुरोध गर्ने । सोधिएका प्रश्नको तर्कपूर्ण र स्पष्ट जवाफ दिने । तथ्य र तथ्याङ्कले जवाफ पुष्टि गर्न सकेमा झनै राम्रो मानिन्छ । जवाफ दिँदा प्रश्नकर्तासँग दृष्टि सम्पर्क कायम गर्ने । बेला बेलामा अन्य सदस्यतर्फ पनि फर्किने । आफूले नबुझेको र नजानेको विषयवस्तुलाई बुद्धिमत्तापूर्वक पन्छाउने वा विनम्रतापूर्वक आफ्नो अनविज्ञता स्वीकार गर्ने ।

च)  अन्तर्वार्ता परीक्षार्थीको व्यक्तित्व परीक्षण गर्ने चरण पनि हो । व्यक्तिका संज्ञानात्मक पक्षका अलवा संवेगात्मक र नैतिक पक्षको समेत परीक्षण गर्न अन्तर्वार्ताकारले नैतिक द्विविधा र आवेग सिर्जना हुने परिस्थिति निर्माण गर्न सक्छन् । यस्तो अवस्थामा पनि सम्हालिएर परिस्थितिको सामना गर्नु उपयुक्त हुन्छ । 

छ)  अन्तर्वार्ता सकिएको जानकारी प्राप्त भएपश्चात् सबैलाई धन्यवाद र आदरभाव प्रकट गरी शालीनतापूर्वक अन्तर्वार्ता कक्षबाट बाहिरिनु पर्छ ।

– अन्त्यमा निरन्तरता, धैर्यता, प्रतिबद्धता, अनुशासन र सकारात्मक सोचका साथ लोक सेवा आयोगका प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरेमा सफलता नजिक पुग्न सकिन्छ । सबैमा सफलताको शुभकामना । 

प्रस्तुतकर्ता : अर्जुन शर्मा   

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

Lumbini Province, Education Officer, Seventh Level, 2083/06/06
Past Questions

लुम्बिनी प्रदेश, शिक्षा अधिकृत, सातौँ तह, २०८३/०६/०६

  • Sep 22, 2026
  • 265
History of the establishment of the Non-Aligned Movement (NAM)
Others

असंलग्न आन्दोलन (NAM) को स्थापनाको इतिहास

  • Sep 22, 2026
  • 264
Nepal's diplomatic relations with BIMSTEC countries
Others

नेपालको बिमस्टेक (BIMSTEC) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 22, 2026
  • 134
Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 260
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 72
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA