Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा सम्बन्धी ताजा विषयगत प्रश्नोत्तर-गोर्खापत्र

  • Engineering Nepal
  • June 29, 2022
  • 792

लोकसेवा सम्बन्धी ताजा विषयगत प्रश्नोत्तर-गोर्खापत्र

लोकसेवा सम्बन्धी ताजा विषयगत प्रश्नोत्तर-गोर्खापत्र

प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षण

आयोजनाहरूमा लोकसेवा आयोगले प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षण कसरी गर्दै आएको छ ?

 लोकसेवा आयोग एक स्वतन्त्र एवं स्वायत्त संवैधानिक निकाय हो । वि.सं. २००८ साल असार १ गते स्थापना भएको लोकसेवा आयोगले योग्यता, स्वच्छता र निष्पक्षताको मूल मन्त्रलाई आत्मसात् गरी जनशक्ति आपूर्तिको व्यवस्था मिलाउँदै आएको छ । यसले निजामती सेवाका लागि आवश्यक पर्ने उपयुक्त कर्मचारी छनोट गर्न रिक्त पदको माग सङ्कलन गर्ने, विज्ञापन गर्ने, दरखास्त सङ्कलन गर्ने, दरखास्त छानबिन गर्ने, परीक्षा लिने, नतिजा प्रकाशन गर्ने, अन्तर्वार्ता लिने, सिफारिस गर्नेजस्ता कार्य गर्दै आएको छ । लोकसेवा आयोगले यी कार्यहरू नेपालको संविधान, लोकसेवा आयोग ऐन २०६६, लोकसेवा आयोग नियमावली २०६७, लोकसेवा आयोग (कार्य सञ्चालन) निर्देशिका २०६७, लोकसेवा आयोगका पदाधिकारी एवं दक्ष÷विज्ञ र कर्मचारीको आचारसंहिता, २०६९, 

सङ्गठित संस्थाका कर्मचारीको सेवाका सर्तसम्बन्धी कानुन, बढुवा र विभागीय कारबाहीसम्बन्धी सामान्य सिद्धान्त, २०७४, सङ्गठित संस्थाको लिखित परीक्षा (खर्च व्यवस्थापन) सञ्चालन कार्यविधि, २०७७ र सङ्क्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ अनुसार गर्दछ ।

– नेपालको पछिल्लो संविधानले सुरक्षा निकाय र सङ्गठित संस्था÷सार्वजनिक संस्थानका पदमा पदपूर्तिका लागि लिखित परीक्षा सञ्चालन गर्ने जिम्मेवारी लोकसेवा आयोगलाई थप गरेको छ । यसै व्यवस्थाअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागजस्ता सुरक्षा निकाय र नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, वायुसेवा निगमलगायतका सार्वजनिक संस्थानमा आयोगले परीक्षा लिँदै आएको छ । निजामती सेवा, सुरक्षा निकाय र सङ्गठित संस्था÷सार्वजनिक संस्थानका लागि आवश्यक पर्ने जनशक्ति निरन्तर आपूर्ति गर्दै आएको छ । यसले आफ्नो कार्य व्यवस्थित गर्न वार्षिक कार्य तालिका बनाएर सोहीअनुरूप कार्य गर्दै आएको छ । आफूले गरेको दैनिक कार्यको सूचना प्रत्येक बुधबार साप्ताहिक रूपमा आफैँले प्रकाशन गर्दै आएको बुलेटिनमार्फत र सोही सूचना प्रत्येक बुधबारको गोरखापत्र राष्ट्रियमार्फत जनसमक्ष ल्याउँदै आएको छ ।

लोकसेवा आयोगले गर्ने यी माथिका सबै कार्य अति निष्पक्ष तवरले गर्दछ । यही भएर लोकसेवाप्रति सर्वसाधारणको आकर्षण र विश्वास बढेको पाइन्छ । लोकसेवाले गर्ने कार्यमध्ये प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षण गर्ने कार्य अत्यन्त गोप्य हुने गर्दछन् । यी कार्य लोकसेवा आयोगले सम्बन्धित विषयका विशेषज्ञबाट अति गोप्य तवरबाट गराउँदै आएको छ । लोकसेवा आयोगले गर्ने यस्ता कार्य तथा अवलम्बन गर्ने सिद्धान्त प्रदेश लोकसेवा आयोगका लागि पनि मार्गदर्शन हुने अपेक्षा गर्न सकिन्छ । आयोगले गर्ने यस्ता आन्तरिक कार्यहरूबारे सबैलाई जानकारी नहुन सक्दछ, त्यसैले यहाँ यी र यीसँग सम्बन्धित व्यवस्थाको चर्चा गर्ने प्रयास गरिएको छ ।

प्रश्नपत्र निर्माण गर्ने कार्य 

– लोकसेवाले लिने परीक्षाका लागि प्रश्नपत्र निर्माण गर्दा सम्बन्धित विषयका विशेषज्ञबाट गराउने व्यवस्था छ । प्रश्नपत्र निर्माण गर्दा एक विषयको सामान्यतयाः पाँच सेट प्रश्न पाँच जना विशेषज्ञबाट निर्माण गर्नुपर्ने व्यवस्था छ । लोकसेवाले लिखित परीक्षामा वस्तुगत प्रश्न र विषयगत प्रश्न सोध्ने गर्दछ । वस्तुगत प्रश्न सोध्ने विषयमा ठीक बेठीक छुट्याउने प्रश्न, जोडा मिलाउने प्रश्न र खाली ठाउँ भर्ने प्रश्न समावेश गर्दछ ।

– विषयगत प्रश्न सोध्ने विषयमा उम्मेदवारले आफ्ना मौलिक विचारहरू व्याख्यात्मक रूपमा व्यक्त गर्न पाउने वर्णनात्मक प्रश्न, उम्मेदवारले दुई धारणाको तुलना गर्दै जबाफ प्रस्तुत गर्नुपर्ने तुलनात्मक प्रश्न, कुनै कुराको पक्ष वा विपक्षमा आफ्नो विचार व्यक्त गरी कारण र पुष्ट्याइँ दिनुपर्ने प्रश्न, प्रश्नको जबाफमा उम्मेदवारले आफ्नो निजी धारणा प्रस्तुत गर्नुपर्ने अवसर दिई स्वतन्त्र विचार व्यक्त गर्नुपर्ने प्रश्न, कुनै घटना र वास्तविकतालाई पुष्टि गर्नका लागि कारण र असर उल्लेख गर्नुपर्ने प्रश्न, उम्मेदवारको बुझाइ एवं प्रयोग गर्ने क्षमतालाई जाँच्न छोटो उत्तर आउने प्रश्न र समस्या समाधानसम्बन्धी प्रश्न सोध्ने गर्दछ । 

– लोकसेवाले विषयगत प्रश्न निर्माण गर्दा ध्यान दिनुपर्ने कुराको व्यवस्था गरेको छ । जसअनुसार विषयगत प्रश्न निर्माण गर्दा संज्ञानात्मक तहअनुसार ज्ञान, बोध, प्रयोग, विश्लेषण, संश्लेषण र 

मूल्याङ्कन तहका उपलब्धि जाँंच्ने गरी प्रश्न निर्माण गर्नुपर्ने, विवादास्पद, बहुअर्थ लाग्ने र अस्पष्ट प्रश्न सोध्नु हँुदैन, प्रश्नसँगै आउने पूरक प्रश्नहरू एकअर्कोसंँग पूर्ण रूपमा सम्बन्धित हुनुपर्दछ, उम्मेदवारको सिर्जनात्मक प्रतिभा, मौलिकता जाँंच्ने र निर्दिष्ट गरिएको सेवा समूहको पाठ्यक्रम र सोको उद्देश्यलाई आधार मानी निर्धारण गरिएको समयभित्र उत्तर दिन सकिने प्रश्न समावेश गर्नुपर्दछ । 

– पाठ्यक्रमको सबै खण्डबाट प्रश्न निर्माण गर्नुपर्दछ । आन्तरिक परीक्षामा व्यावहारिक पक्ष र खुला परीक्षामा सैद्धान्तिक पक्षमा केन्द्रित भई प्रश्न निर्माण गर्नुपर्दछ । एउटै प्रश्नमा टुक्रे प्रश्न भएमा प्रत्येक टुक्रे प्रश्नको अङ्कभार छुट्याउनु पर्दछ । पाँच अङ्कको प्रश्न निर्माण गर्दा उत्तरसमेत तयार गरी संलग्न गर्नुपर्दछ भने दश अङ्क वा सोभन्दा बढीको प्रश्न निर्माण गर्दा प्रश्नले अपेक्षा गरेको सम्भावित बुँदागत उत्तरको सार सङ्क्षेप विषयवस्तुहरू के के हुन्, सो संलग्न गरी कुन कुन विषयवस्तु समेट्दा कति कति अङ्क प्रदान गर्ने भन्ने कुरासमेत प्रस्ट छुट्याई प्रश्नसाथ मार्किङ स्किम संलग्न गरी पठाउनुपर्ने व्यवस्था छ । 

प्रश्नपत्र परिमार्जन गर्ने कार्य 

– विषय विशेषज्ञबाट निर्माण भइआएका प्रश्नहरूको परिमार्जन आवश्यकताअनुसार एक वा एकभन्दा बढी विशेषज्ञबाट गराउने व्यवस्था छ । प्रश्नपत्रको परिमार्जन गर्दा सबै पाठ्यांशबाट समावेश गर्नुपर्ने र तोकिएको समयभित्र उम्मेदवारले उत्तर लेख्न सक्ने किसिमको हुनुपर्दछ । प्रश्न परिमार्जन गर्दा विवादास्पद प्रश्न नराख्ने, पाठ्यक्रमभन्दा बाहिरका प्रश्न नराख्ने, सम्बन्धित पदको स्तरसँग मिल्ने प्रश्न राख्ने, एक सेट प्रश्नभित्र प्रश्न नदोहोरिने गरी तयार गर्ने, एक विषयको तीन सेट प्रश्न तयार गर्नेजस्ता कुरामा ध्यान दिनुपर्दछ । 

प्रश्नपत्र भण्डारण गर्ने कार्य 

– परिमार्जन भएका प्रश्नपत्रहरू भण्डारण गर्न लोकसेवा आयोगमा एउटा प्रश्नपत्र भण्डार (प्रश्नपत्र बैङ्क) हुन्छ । बैङ्क आयोगको सचिवको रेखदेख र नियन्त्रणमा सम्बन्धित महाशाखा प्रमुख सहसचिवको जिम्मामा रहन्छ । बैङ्कमा भएका प्रश्नपत्र समय समयमा परिमार्जन गरी पुनः प्रयोग गर्न सकिन्छ ।

प्रश्नपत्रको छनोट गर्ने र छपाइ गर्ने कार्य 

– एउटा विषयको समान स्तरका तीन सेट प्रश्नपत्रमध्येबाट लिखित परीक्षामा प्रयोग गरिने प्रश्नपत्रको एक सेट आयोगको अध्यक्षबाट छनोट हुने गर्दछ । अध्यक्षबाट छनोट भएको प्रश्नपत्रको छपाइ आयोगको केन्द्रीय कार्यालयमा सचिवले तोकेको कर्मचारीले र आयोगको मातहतका कार्यालयमा सम्बन्धित कार्यालय प्रमुखले आयोगको केन्द्रीय कार्यालयको प्रतिनिधिको रोहवरमा गर्नु गराउनुपर्ने व्यवस्था छ । 

लिखित परीक्षा लिने कार्य

– प्रश्नपत्रको छनोट एवं छपाइपछि उम्मेदवार छनोट गर्न लोकसेवा आयोगले लिखित परीक्षा सञ्चालन गर्दछ ।

उत्तरपुस्तिकामा पहिलो सङ्केत (कोड¬) राख्ने कार्य

– लिखित परीक्षा सम्पन्न भएपछि सबै परीक्षा केन्द्रको उत्तरपुस्तिका सङ्कलन गरेर सबै उत्तरपुस्तिकालाई तलमाथि पारी छ्यासमिस गरेर पहिलो कोड राख्ने व्यवस्था छ । उत्तरपुस्तिकामा पहिलो कोड केन्द्रीय कार्यालयमा सम्बधित महाशाखा प्रमुख सहसचिवले र आयोगको मातहतको कार्यालयमा आयोगको केन्द्रीय कार्यालयको प्रतिनिधिको रोहवरमा सम्बन्धित कार्यालय प्रमुखले राख्ने ब्यवस्था छ ।

उत्तरपुस्तिकामा दोस्रो सङ्केत (कोड) राख्ने कार्य 

– पहिलो कोड राखेका उत्तरपुस्तिकालाई तलमाथि पारी छ्यासमिस गरेर आयोगको सचिवले तोकेको अधिकृत कर्मचारीले दोस्रो कोड राख्ने व्यवस्था छ । उत्तरपुस्तिकामा पहिलो कोड राख्दा कालो मसी र दोस्रो कोड राख्दा रातो मसी प्रयोग गर्ने व्यवस्था छ । उत्तरपुस्तिकामा राखेको पहिलो कोडको अर्धकट्टीको सिलबन्दी पोका आयोगको सचिव वा निजले तोकेको कर्मचारीको जिम्मामा र दोस्रो कोडको अर्धकट्टीको सिलबन्दी पोका आयोगको अध्यक्ष वा निजले तोकेको कर्मचारीको जिम्मामा रहने व्यवस्था छ । 

उत्तरपुस्तिका परीक्षण गर्ने कार्य 

– लोकसेवा आयोगले लिने परीक्षाको उत्तरपुस्तिकाको परीक्षण सम्बन्धित विषयको विशेषज्ञबाट गराउने व्यवस्था छ । सम्बन्धित विषय विशेषज्ञलाई उत्तरपुस्तिका परीक्षण गर्न दिँदा सम्बन्धित विषयको प्रश्नपत्र, उत्तर तालिका फाराम, विशेषज्ञले पालना गर्नुपर्ने सर्तहरू र राजपत्रअनङ्कित पदको गाइड लाइन संलग्न गरी गोप्य रूपमा बुझाउने व्यवस्था छ । उत्तरपुस्तिका परीक्षण गरेपछि परीक्षकले उत्तरतालिका फाराममा प्राप्ताङ्कलाई अङ्क र अक्षरमा उल्लेख गर्नुपर्दछ । लोकसेवा आयोगले विषयगत प्रश्नका उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षकले ध्यान दिनुपर्ने कुराको व्यवस्था गरेको छ ।

विषयगत प्रश्नका उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षकले वस्तुनिष्ठ रूपमा उत्तरपुस्तिका परीक्षण गर्नका लागि उत्तरपुस्तिकाको स्तर निर्धारण गरी उत्तरपुस्तिका परीक्षण आधार तालिकाअनुसार परीक्षण गर्नुपर्ने व्यवस्था छ । उत्तरपुस्तिकाको स्तर निर्धारण यसरी गर्ने व्यवस्था छ : अनुपयुक्त ४० प्रतिशतभन्दा कम, साधारणस्तर ४० प्रतिशत वा सोभन्दा माथि ४५ प्रतिशतसम्म, मध्यमस्तर ४५ प्रतिशतदेखि माथि ५० प्रतिशतसम्म, उच्चस्तर ५० प्रतिशतदेखि माथि ६० प्रतिशतसम्म, अति उच्चस्तर ६० प्रतिशतदेखि माथि । त्यसैगरी लोकसेवा आयोगले विषयगत उत्तरपुस्तिका परीक्षण गर्दा अपनाउनुपर्ने आधारहरू तयार गरेको छ, जसअनुसार यस्ता आधारहरू निम्नबमोजिम छन् ः 

– (क) विषयज्ञानको तथ्यपूर्ण र तर्कपूर्ण अभिव्यक्ति,

– (ख) मौलिकता,

– (ग) समालोचना तथा आलोचना,

– (घ) प्रस्तुतीकरण,

– (ङ) शुद्धाशुद्धि तथा सफाइ,

विषयगत उत्तरपुस्तिका परीक्षण गर्दा अपनाउनुपर्ने आधारहरूमा दिइने अङ्कभार प्रश्नअनुसार फरकफरक रहेको छ । जस्तो– पाँच अङ्कको प्रश्नमा विषयज्ञानको तथ्यपूर्ण र तर्कपूर्ण अभिव्यक्तिमा ७५ प्रतिशत अर्थात् ३.७५ अङ्क, मौलिकतामा ५ प्रतिशत अर्थात् ०.२५ अङ्क, समालोचना तथा आलोचनामा ५ प्रतिशत अर्थात् ०.२५ अङ्क, प्रस्तुतीकरणमा १० प्रतिशत अर्थात् ०.५० अङ्क, शुद्धाशुद्धि तथा सफाइमा ५ प्रतिशत अर्थात् ०.२५ अङ्क रहेको छ । त्यसैगरी दस अङ्कको प्रश्नमा विषयज्ञानको तथ्यपूर्ण र तर्कपूर्ण अभिव्यक्तिमा ४५ प्रतिशत अर्थात् ४.५ अङ्क, मौलिकतामा ३० प्रतिशत अर्थात् ३ अङ्क, समालोचना तथा आलोचनामा १५ प्रतिशत अर्थात् १.५ अङ्क, प्रस्तुतीकरणमा ५ प्रतिशत अर्थात् ०.५० अङ्क, शुद्धाशुद्धि तथा सफाइमा ५ प्रतिशत अर्थात् ०.५ अङ्क रहेको छ ।

– विषयगत पत्रमा कुनै परीक्षार्थीले अति उच्चस्तरको अङ्क अर्थात् ६० प्रतिशतदेखि माथि प्राप्त गर्ने देखिएमा त्यसको कारण खुलाउनु पर्दछ । एउटै प्रश्नमा टुक्रे प्रश्नहरू भए प्रत्येक टुक्रे प्रश्नका लागि 

छुट्याइएको मार्किङ स्किमअनुुसार अङ्क दिई परीक्षण गर्नुपर्दछ । परीक्षकले उत्तरपुस्तिका परीक्षण गर्दा उच्च अङ्क प्राप्त गर्ने दस प्रतिशत उत्तरपुस्तिकाको पुनःपरीक्षण गर्नुपर्दछ । परीक्षणकर्ताको कुनै नातेदारले सो परीक्षा दिएको भए उत्तरपुस्तिका परीक्षण नगरी सिलबन्दी रूपमा नै फिर्ता गर्नुपर्दछ । विषयगत उत्तरपुस्तिका परीक्षण गर्दा विषय ज्ञानको तथ्यपूर्ण र तर्कपूर्ण अभिव्यक्ति, मौलिकता, समालोचना तथा आलोचनात्मक शक्ति, प्रस्तुतीकरण, शुद्धाशुद्धि तथा सफाइलाई ध्यान दिई परीक्षण गर्नुपर्दछ । उत्तरपुस्तिका परीक्षण गर्दा लोकसेवाले उपलब्ध गराएको अङ्क योजनाअनुसार परीक्षण गर्नुपर्दछ । उत्तरले अपेक्षा गरेका बुँदालाई परीक्षण गर्नुपूर्व सूचीकृत गरी तिनीहरूको 

अङ्कभार सुनिश्चित गर्नुपर्दछ । एक सिटिङमा कति उत्तरपुस्तिका परीक्षण गर्ने हो, सोको पहिल्यै यकिन गर्ने र उत्तरपुस्तिका परीक्षण गर्दा रातो मसी प्रयोग गरी सकभर उत्तरपुस्तिकाको देब्रेपट्टि किनारामा अङ्क प्रदान गर्नुपर्ने व्यवस्था छ ।

उत्तरपुस्तिका रुजु गर्ने कार्य 

– विशेषज्ञबाट परीक्षण भई प्राप्त भएका उत्तरपुस्तिका आयोगमा रुजु गरी राख्ने व्यवस्था छ । उत्तरपुस्तिका रुजु गर्दा उम्मेदवारले लेखेको सबै उत्तर परीक्षण गरी अङ्क दिइएको छ छैन, परीक्षकले दिएका सबै अङ्क ठीकसंँग जोडिएको छ, छैनजस्ता कुरामा ध्यान दिनुपर्ने व्यवस्था छ ।

उत्तरपुस्तिकाको सम्परीक्षण गर्ने कार्य 

– लोकसेवाले आवश्यक देखेमा सम्बन्धित विषयको विशेषज्ञबाट परीक्षण भई प्राप्त भएका उत्तरपुस्तिकामध्ये सबै वा केही उत्तरपुस्तिका सम्परीक्षण गराउन सक्दछ ।

उत्तरपुस्तिकाको पुनःपरीक्षण गर्ने कार्य 

– उत्तरपुस्तिका सम्परीक्षण गर्दा विशेषज्ञले पालना गर्नुपर्ने सर्तहरू पालना नगरेको पाइएमा त्यस्ता उत्तरपुस्तिका लोकसेवाले पुनःपरीक्षण गराउन सक्दछ तर लिखित परीक्षाको नतिजा प्रकाशन भएपछि लोकसेवाले उत्तरपुस्तिकाको पुनःपरीक्षण नगराउने व्यवस्था छ ।

लिखित परीक्षाको नतिजा प्रकाशन गर्ने कार्य 

– उत्तरपुस्तिकाको परीक्षण, रुजु एवं आवश्यकताअनुसार सम्परीक्षण तथा पुनःपरीक्षणपश्चात् लोकसेवाले उम्मेदवारको वर्णानुक्रमअनुसार लिखित परीक्षाको नतिजा प्रकाशन गर्दछ ।

पुनर्योगको कार्य 

– लखित परीक्षाको नतिजा प्रकाशन भएपछि कुनै उम्मेदवारले आफ्नो लिखित परीक्षाको कुनै वा सबै पत्रको पुनर्योग गर्न लिखित परीक्षामा तोकिएको परीक्षा दस्तुरको आधा दस्तुर तिरेर लिखित परीक्षाको नतिजा प्रकाशन भएको मितिले सात दिनभित्रमा लोकसेवा आयोगको सम्बन्धित कार्यालयमा निवेदन दिन सक्दछ । पुनर्योगका लागि यसरी निवेदन आएमा लोकसेवा आयोगले पुनर्योग गरी निवेदकलाई सोको नतिजा सार्वजनिक सूचनामार्फत जानकारी गराउने व्यवस्था छ । 

Source: GorkhapatraOnline

Categories

  • Current Affairs 618
  • Gorkhapatra 306
  • Others 999
  • Vacancy 1
  • Past Questions 75

Latest Blogs

Fossils of Southeast Asia's largest dinosaur found in Thailand
Current Affairs

थाइल्याण्डमा दक्षिण-पूर्वी एसियाकै सबैभन्दा ठुलो डाइनोसरको अवशेष (जीवावशेष) फेला

  • May 17, 2026
  • 71
Nepal Gazette
Others

नेपाल राजपत्र

  • May 17, 2026
  • 96
World Hypertension Day, 2026
Current Affairs

विश्व उच्च रक्तचाप दिवस, २०२६

  • May 17, 2026
  • 88
World Telecommunication and Information Society Day, 2026
Current Affairs

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस, २०२६

  • May 17, 2026
  • 89
Kamirita Sherpa climbs Mount Everest for the 32nd time
Current Affairs

कामिरिता शेर्पाद्वारा ३२औं पटक सगरमाथा आरोहण

  • May 17, 2026
  • 91
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA