लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर (२१ असोज २०८३, बुधबार)
१. सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?
➤ कार्ल डाइसरोथ (अमेरिकी स्नायुविज्ञ), पिटर हेगेमान (जर्मनी) र जर्ज नागेल (जर्मनी)
- प्रकाश–संवेदनशील आयन च्यानल र अप्टोजेनेटिक्ससम्बन्धी खोजका लागि प्रदान गरिएको हो ।
- यसबाट वैज्ञानिकहरूले जीवित मस्तिष्कभित्र विशेष प्रकाश पठाएर कुनै निश्चित कोषलाई चाहेको बेला काम गराउन (सक्रिय गर्न) वा रोक्न (निष्क्रिय गर्न) सक्ने छन् ।
- यसअघि दिमागका कोषहरूलाई यसरी छानी छानी नियन्त्रण गर्न सम्भव थिएन तर यो प्रविधिले कुन कोषले कस्तो काम गरिरहेको छ भनेर एकदमै नजिकबाट हेर्न र बुझ्न सहज बनाएको छ ।
- हाम्रो दिमागले पुराना यादहरू कसरी राख्छ । हामीलाई डर, खुसी, रिस जस्ता भावना कसरी महसुस हुन्छ र हामीले कस्तो व्यवहार देखाउँछौँ भन्ने कुराको रहस्य पत्ता लगाउन यसले ठुलो सहयोग गर्ने छ ।
- यसले स्नायु विज्ञानको क्षेत्रमा एउटा नयाँ क्रान्ति नै ल्याएको छ । भविष्यमा पार्किन्सन्स, अल्जाइमर वा अन्य मानसिक तथा स्नायुसम्बन्धी जटिल रोगहरूको उपचार खोज्न यो प्रविधिले ठुलो भूमिका खेल्ने विश्वास गरिएको छ ।

२. २० औँ एसियाली खेलकुद, २०२६ मा नेपालले कुन कुन खेलमा पदक हासिल गर्न सफल भयो ?
➤ महिला कबड्डी (१ कांस्य) र कराँते (तेन्जिङ शेर्पा, १ कांस्य)
- प्रतियोगिता आयोजना : सन् २०२६ सेप्टेम्बर १९ – अक्टोबर ४, नागोया, जापान
- उद्घाटन : जापानका सम्राट् नारुहितोद्वारा (जापानको आइची नागोयास्थित पालोमा मिजुहो रङ्गशालामा)
- नारा : इमाजिन वन एसिया ।
- सहभागी राष्ट्र : ४५ (एक एसियन रेफ्युजी टिम)
- कुल खेलाडी : १०,७८७
- खेल सङ्ख्या : ४३
- प्रथम : चीन (स्वर्ण : १६९, रजत : ८९, कांस्य : ८३, जम्मा : ३४१)
- दोस्रो : जापान (स्वर्ण : ८३, रजत : ९५, कांस्य : ९१, जम्मा : २६९)
- तेस्रो : दक्षिण कोरिया (स्वर्ण : ३९, रजत : ४३, कांस्य : ६८, जम्मा : १५०)
- यस एसियाडको मार्चपासमा नेपालको झन्डा राष्ट्रिय महिला कबड्डी खेलाडी मनमती विष्ट र बक्सर चन्द्रबहादुर थापामगरले बोक्ने गौरव पाउनुभयो ।
- जापानले तेस्रो पटक एसियाली खेलकुद आयोजना गरेको हो (यसअघि सन् १९५८ मा टोकियो र सन् १९९४ मा हिरोसिमा गरिएको थियो) ।

३. हाल नेपालमा चरा प्रजातिको सङ्ख्या कति रहेको छ ?
➤ ९०४
- ९०४ औँ : कोलर्ड किङ्फिसर
- वि.सं. २०८३ असोज १३ गते धनुषाको जनकपुरधाममा पहिलो पटक यो चरा देखा परेको हो ।
- यो चरा विशेष गरी समुद्री तटीय क्षेत्रमा पाइन्छ ।
- वैज्ञानिक नाम : टोडिर्याम्फस क्लोरिस
- मुख्यत: दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, अस्ट्रेलिया र प्रशान्त महासागरीय तटीय क्षेत्रमा पाइने यो प्रजातिको नजिकको स्थायी वासस्थान भारतको पश्चिम बङ्गाल र बङ्गलादेशको सुन्दरवन क्षेत्र हो । भूपरिवेष्ठित देश नेपालमा यो चरा गङ्गाब्रह्मपुत्र नदी प्रणाली पछ्याउँदै भौँतारिएर वा मौसमका कारण बाटो बिराएर आइपुगेको अनुमान पन्छीविद्हरूको छ ।

४. एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) को ११ औँ वार्षिक बैठकबाट नेपाल कुन पदमा निर्वाचित हुन सफल भयो ?
➤ उपसभापति
- सन् २०२६ सेप्टेम्बर २८–२९ मा कतारको राजधानी दोहामा आयोजित बैठकले नेपाललाई सन् २०२६–२७ का लागि क्षेत्रीय सदस्य राष्ट्रमध्येबाट उपसभापति पदमा निर्वाचित गरेको हो ।
- बैङ्कको संस्थापक सदस्य राष्ट्र रहेको नेपाल क्षेत्रीय सदस्य राष्ट्रमध्येबाट पहिलो पटक यस पदमा निर्वाचित भएको हो ।
- बैङ्कमा एक अध्यक्ष तथा क्षेत्रीय र गैरक्षेत्रीय सदस्य मुलुकबाट एक/एक जना उपाध्यक्ष रहने प्रावधान अनुसार यस पटक नेपालसँगै आयरल्यान्ड (गैरक्षेत्रीय सदस्य मुलुकबाट) पनि चयन भयो ।
५. अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को नयाँ-दिल्लीस्थित दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टरको प्रमुखमा नियुक्त हुने नेपाली को हुन् ?
➤ आनन्दराज खनाल
- नेपाली दूरसञ्चार तथा सूचना प्रविधिविज्ञ आनन्दराज खनाल सो पदमा नियुक्त भएका हुन् ।
- सन् २०२६ सेप्टेम्बर २२ मा नियुक्त भएका खनालले सन् २०२६ अक्टोबर १ मा पदभार ग्रहण गरे ।
- भारत सरकारको सहकार्यमा स्थापित यस क्षेत्रीय कार्यालयको कार्यक्षेत्रमा नेपालसहित अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, इरान, माल्दिभ्स र श्रीलङ्का रहेका छन् ।

६. भारतको सिम्लामा आयोजित १२ औँ अन्तर्राष्ट्रिय फिल्म्स फेस्टिभल, २०२६ मा स्पेसल जुरी सर्ट डकुमेन्ट्री अवार्ड जित्न सफल नेपाली वृत्तचित्र कुन हो ?
➤ दी एभरेस्ट ड्रिम
- सञ्चारकर्मी गणेश पाण्डेद्वारा निर्देशित यस फिल्म्सले ३३ देशका अन्तर्राष्ट्रिय वृत्तचित्रसँग प्रतिस्पर्धा गर्दै यो सफलता हासिल गरेको हो ।
- मस्तिष्कमा गम्भीर चोट लागेका (ब्रेन इन्जुरी सर्वाइवर्स) व्यक्तिहरूको एभरेस्ट बेसक्याम्पसम्मको साहसिक यात्रा र उनीहरूको सङ्घर्षको कथा यसमा समेटिएको छ ।
- यसअघि यो डकुमेन्ट्रीले अमेरिकास्थित ‘कब अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ मा उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड प्राप्त गरेको थियो ।

७. बेबी बुम केसँग सम्बन्धित छ ?
➤ अत्यधिक बालबालिकाको जन्म
- दोस्रो विश्वयुद्ध रोकिएको केही समयपश्चात् सन् १९४८ देखि संसारभर अत्यधिक बालबालिका जन्मिए, जुन त्यसअघि सो दरमा कहिल्यै जन्मेका थिएनन् । जनसङ्ख्याशास्त्रीहरूले अधिक बच्चा जन्मिन थालेको सो घटनालाई ‘बेबी बुम’ को उपमा दिए । यो क्रम करिब १२ वर्ष अर्थात् सन् १९६० सम्म रहेको थियो ।
- बेबी बुम विशेष गरी पूर्वयुद्धग्रस्त क्षेत्र युरोप, अमेरिका, जापान, कोरियामा सबैभन्दा धेरै थियो ।
८. पर्यावरणीय संरक्षणका लागि ‘चिप्को आन्दोलन’ सञ्चालन गर्ने अभियन्ता को हुन् ?
➤ सुन्दरलाल बहुगुणा
- भारतको गडवाल क्षेत्रमा वनफँडानीविरुद्ध उनले सन् १९७३ तिर यो आन्दोलन सञ्चालन गरेका थिए ।
९. कोशी प्रदेशमा सम्पन्न ‘वुमन लिडरसिप समिट २०२६’ ले कति बुँदे घोषणापत्र सार्वजनिक गरेको छ ?
➤ १६ बुँदे (वि.सं. २०८३ वैशाख)
- कोशी प्रदेशको विराटनगरमा आयोजना गरिएको ‘वुमन लिडरसिप समिट २०२६’ महिला नेतृत्व, उद्यमशीलता र आर्थिक सहभागिताबारे गहन छलफल गर्दै १६ बुँदे घोषणापत्र जारी गरी सम्पन्न भएको हो ।
- उद्योगी तथा सरोकारवालाले महिलालाई श्रमशक्तिमा मात्र सीमित नगरी नेतृत्व तहमा पुर्याउन सिप विकास, वित्तीय पहुँच र मार्गदर्शन (मेन्टरसिप) मा जोड दिँदै आफ्ना संस्थामा महिला रोजगारी वृद्धि गर्ने प्रतिबद्धता जनाएका छन् ।
१०. एसियाली खेलकुद प्रतियोगिताको इतिहासमै सबैभन्दा कम उमेरमा स्वर्ण पदक जिती कीर्तिमान कायम गर्न सफल खेलाडी को हुन् ?
➤ युकी कुरिहारा (११ वर्ष, जापान), २० औँ एसियाली खेलकुद, २०२६
- जापानका ११ वर्षीय प्राथमिक तहका विद्यार्थी युकी कुरिहारा एसियन गेम्स (ई. स्पोट्र्स अन्तर्गत ‘पुयो पुयो’) मा स्वर्ण जित्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका हुन् ।
- कुरिहाराले सेमिफाइनलमा थाइल्यान्डका २८ वर्षीय तानाराक वोङ्गकिटकुनलाई र फाइनलमा दक्षिण कोरियाका २४ वर्षीय काङ डोङसिनलाई पराजित गरेका थिए ।
- उनले १० वर्षकै उमेरमा एसियन गेम्समा जापानको प्रतिनिधित्व गर्ने स्थान पक्का गरेका थिए भने विद्यालय, अतिरिक्त कक्षा र प्रशिक्षणलाई सन्तुलनमा राखेर यो सफलता हासिल गरेका हुन् ।
- ओलम्पिक काउन्सिल अफ एसियाका अनुसार कुरिहाराको यो जित एसियाली खेलको इतिहासकै स्वर्ण पदक विजेता बन्ने सबैभन्दा कम उमेरको कीर्तिमान रहेको छ ।

११. नगरपालिकामा गठन हुने स्थानीय राजस्व परामर्श समितिको संयोजक को हुने व्यवस्था छ ?
➤ उपप्रमुख (नगरपालिका)
१२. सबैभन्दा कम उमेरमा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गरी गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाउन सफल पर्वतारोही को हुन् ?
➤ मिङ्मा ग्याल्जेन शेर्पा (बेदिङ, दोलखा)
- सन् २०२२ मा पहिलो पटक मनासलु हिमाल आरोहण गरेका मिङ्माले सन् २०२४ सम्ममा सो सफलता हासिल गरेका थिए ।
१३. नेपालमा नागरिक सुरक्षा दिवस कहिले मनाउने गरिन्छ ?
➤ असोज १२ (वि.सं. २०६८ देखि मनाउन थालिएको हो।)
१४. राष्ट्रिय यातायात नीति, २०८३ कहिले स्वीकृत भएको हो ?
➤ वि.सं. २०८३ असार २४
- नयाँ यातायात नीति, २०८३ स्वीकृत भएसँगै लामो समयदेखि लागु रहेको राष्ट्रिय यातायात नीति, २०५८ स्वत: खारेज भएको छ ।
- सार्वजनिक यातायात र सडक पूर्वाधारको विकासमा निजी क्षेत्रको सहभागिता प्रवर्धन गर्न पिपिपी तथा अन्य उपयुक्त मोडेलहरू अवलम्बन गरिने नयाँ नीतिमा उल्लेख छ ।
- जलवायु वित्त (क्लाइमेट फाइनान्स), हरित लगानी र कार्बन क्रेडिटिङबाट प्राप्त रकमलाई विद्युतीय सवारीसाधनको पूर्वाधार विकास र प्रणाली विस्तारमा प्राथमिकताका साथ परिचालन गरिने छ ।
- यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन इन्टेलिजेन्ट ट्रान्सपोर्ट सिस्टम (आइटिएस), स्मार्ट भुक्तानी प्रणालीका साथै महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गतामैत्री डिजाइन सिद्धान्तलाई प्राथमिकता दिइएको छ ।
१५. आयातनिर्यात कार्यलाई सहज बनाउन सञ्चालनमा ल्याइएको पोर्टल कुन हो ?
➤ नेपाल ट्रेड (नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको हो ।)
१६. अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस कहिले मनाउने गरिन्छ ?
➤ अक्टोबर १
- संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेको थियो ।
- सन् २०२६ अक्टोबर १ का दिन ३६ औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको हो ।

१७. अमेरिकी नेतृत्वको गठबन्धनले आफ्नो सैन्य अभियान औपचारिक रूपमा अन्त्य गर्दै इराकबाट कहिले फिर्ता भएको हो ?
➤ सन् २०२६ सेप्टेम्बर ३०
- गठबन्धन सेनाको बहिर्गमनले इराकमा बर्सौंदेखि तेहरानको प्रभावलाई सन्तुलनमा राख्ने शक्ति समाप्त भएको र यसले इरानलाई रणनीतिक फाइदा पुग्ने विश्लेषकको ठहर रहेको छ ।
- इराक पूर्ण रूपमा सुरक्षाको जिम्मा लिन तयार भइनसकेको अवस्थामा अमेरिकी फिर्तीले खाली ठाउँ सिर्जना हुने र यसले इस्लामिक स्टेट जस्ता चरमपन्थी समूहलाई फेरि सलबलाउन सक्ने जोखिम रहेको जनाइएको छ ।
प्रस्तुतकर्ता : टङ्क केसी