Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

पृथ्वीनारायण शाह र नेपालको एकीकरण अभियान

  • Bikash Shrestha
  • October 06, 2025
  • 2127

पृथ्वीनारायण शाह र नेपालको एकीकरण अभियान

Prithvi Narayan Shah and the unification campaign of Nepal

पृथ्वीनारायण शाह, राजा नरभूपाल शाहका छोरा थिए। उहाँको जन्म वि.सं. 1779 पौष 27 गते गोरखामा भएको थियो। पृथ्वीनारायण शाह एक साहसी, दूरदर्शी र प्रतापी राजा हुनुहुन्थ्यो । वि.सं. 1616 मा द्रव्य शाहले गोरखामा शासन प्रारम्भ गरेपछि शाह वंशीय राज्यको रूपमा गोरखाको विकास भएको थियो। गोरखा राज्य बाइसी–चौबिसी राज्यहरू तथा काठमाडौं उपत्यकाका मल्ल राजाहरूको तुलनामा सशक्त र संगठित भएकाले यही राज्यबाट नेपाल एकीकरण अभियान सफलतापूर्वक सञ्चालन भयो । यद्यपि कतिपय राज्यहरू गोरखाभन्दा बलिया थिए, तर मध्यकालीन "गुहार युगे राजनीति" को प्रभावका कारण ती राज्यहरू दीर्घकालीन रूपमा बलियो हुन सकेनन् । गोरखाले सुरुदेखि नै कूटनीतिक नीति अवलम्बन गरेको पाइन्छ। गोरखामा द्रव्य शाह, राम शाह, नरभूपाल शाह र पृथ्वीनारायण शाहजस्ता प्रतापी राजाहरूले शासन गरेका थिए । नेपाल एकीकरणको प्रयास मध्यकालीन कालदेखि हुँदै आएको भए पनि आधुनिक नेपालको वास्तविक एकीकरण कार्य पृथ्वीनारायण शाहको नेतृत्वमा सम्पन्न भएको हो ।


लमजुङ र भक्तपुरसँग मैत्री सन्धि

काठमाडौँ उपत्यकामा आक्रमण गर्नुअघि पृथ्वीनारायण शाहले छिमेकी राज्यहरूसँग मैत्री सन्धि गर्न थाले । सन् 1740 जनवरीमा लमजुङसँग भएको सन्धिमा दुवै राज्यले परस्पर अनाक्रमण गर्ने र तेस्रो राज्यले आक्रमण गरेमा संयुक्त रूपमा प्रतिकार गर्ने सहमति गरिएको थियो । त्यसैगरी, सन् 1741 मा पृथ्वीनारायण शाहले भक्तपुरका राजा रणजित मल्लका छोरा वीरनरसिंह मल्लसँग मितेरी सम्बन्ध गाँसे र अर्को छिमेकीसँग पनि मित्रता कायम गरे ।


नुवाकोटमाथि आक्रमण र विजय

सन् 1743 मा पृथ्वीनारायण शाहले नुवाकोटमाथि आक्रमण गरे, तर पहिलो आक्रमण असफल भयो। त्यो बेला नुवाकोट काठमाडौंका राजा जयप्रकाश मल्लको अधीनमा थियो र उनीहरूसँग आधुनिक हतियारहरू पनि थिए । तर दोस्रो पटक 25 सेप्टेम्बर 1744 मा बिहानै त्रिशूली नदी पार गरी गोरखाली सेनाले दुई दिशाबाट आक्रमण गरी नुवाकोट कब्जा गर्न सफल भयो। यसै क्रममा बेनकोट पनि गोरखालीहरूको नियन्त्रणमा आयो ।


उपत्यका नाकाबन्दीको प्रयास

उपत्यकामा सिधा आक्रमण गर्नु अघि पृथ्वीनारायण शाहले त्यसलाई चारैतिरबाट घेराबन्दी गर्ने योजना बनाए । उत्तरी, पश्चिमी र दक्षिणी भागबाट आर्थिक नाकाबन्दी लगभग सफल भएपछि पूर्वी भागबाट पनि घेराबन्दी आवश्यक ठहरियो । २३ अक्टोबर 1763 मा हरिवंश उपाध्याय, कालिदास खड्का र रामकृष्ण कुँवरको नेतृत्वमा गोरखाली सेनाले धुलिखेल, खड्पु, चौकोट, बनेपा, पनौती, नाला र साँगा जस्ता गाउँहरूमा आक्रमण गरी विजय प्राप्त गर्‍यो । २ नोभेम्बर 1763 मा युध्दनगर (कनिङफरिङ) पनि गोरखाको अधीनमा आयो। यसरी काठमाडौं उपत्यका चारैतिरबाट घेरीयो र गोरखाले नुन, कपास, खाद्यान्न लगायतका वस्तुहरूको उपत्यका भित्र प्रवेशमा प्रतिबन्ध लगायो।


सिह्रानचोक गढीको युद्ध

मे 1755 मा चौबिसी राज्यहरूको संयुक्त सेनाले गोर्खाको सिह्रानचोक गढीमाथि आक्रमण गर्‍यो । गोरखाली सेनाले कालु पाँडेको नेतृत्वमा प्रतिरक्षा गर्‍यो। दुवै पक्षबीच भीषण युद्ध भयो र दुबै पक्षमा धेरै जनहानी भयो। अन्ततः गोरखाली सेनाले विजय प्राप्त गर्‍यो ।


काठमाडौं र गोर्खाबीचको सन्धि

तिब्बतसँगको मुख्य व्यापारिक मार्ग केरुङ र कुठी गोरखाको नियन्त्रणमा थियो, तर गोरखाले त्यसबाट विशेष लाभ लिन सकेको थिएन । उपत्यकाका राजाहरूबीच फुट गराउन र व्यापारमा फाइदा लिन सन् 1758 मा काठमाडौंसँग सन्धि गरियो, जसमा तिब्बतसँगको व्यापारको लाभ दुवैले बाँड्ने सहमति भयो ।


मकवानपुर विजय

वि.सं. 1819 भाद्र 9 गते राति गोरखाली सेनाले मकवानपुरमाथि आक्रमण गरी विजय हासिल गर्‍यो । युद्धमा करिब हजार जना मकवानपुरी सेनाको ज्यान गयो। राजा दिग्बन्धन सेन र उनका मन्त्री कनकसिंह बानियाँ परिवारसहित हरिहरपुर पुगे, तर त्यहाँ पनि गोरखाली आक्रमण भएपछि उनीहरू खुँडाघाट हुँदै नुवाकोटमा पुगेर पक्राउ परे । पछि दिग्बन्धन सेनले बंगालको सहायता लिएर पुनः आक्रमण गरे तर पराजित भई पुनः गोरखालीहरूको नियन्त्रणमा परे ।


चौबिसी राज्यहरूको दोस्रो आक्रमण

उपत्यकामा नाकाबन्दी भइरहेका बेला चौबिसी राज्यहरूले मिलेर गोरखामाथि संयुक्त आक्रमण गरे । गोरखाको नियन्त्रणमा रहेका हर्ने, भिर्कोट, धुलाकोट र द्यौरालीमा आक्रमण भयो। तर गोरखाली सेनाको प्रत्याक्रमण अगाडि उनीहरू टिक्न सकेनन् र अन्ततः पराजित भए ।


कीर्तिपुरमाथि आक्रमण र विजय

सन् 1757 मा गोरखाली सेनाले फर्पिङ, बोदे र खोकना कब्जा गरेपछि कीर्तिपुरमाथि आक्रमण गर्‍यो । जयप्रकाश मल्ल र कीर्तिपुरवासीहरूको संयुक्त प्रतिरक्षाबाट गोरखाली सेना पराजित भयो ।यस युद्धमा सेनापति कालु पाँडे वीरगति प्राप्त गरे ।वि.सं. 1821 मा सूरप्रताप शाहको नेतृत्वमा दोस्रो आक्रमण भयो, जसमा उनी घाइते भई एक आँखाबाट अन्धा भए । अन्ततः वि.सं. 1822 चैत्र 2 गते लामो घेऱाबन्दीपछि तेस्रो पटकको आक्रमणमा गोरखालीहरूले कीर्तिपुरमाथि विजय प्राप्त गरे ।


काठमाडौं उपत्यका विजय

कीर्तिपुर विजयपछि पृथ्वीनारायण शाहले काठमाडौं आक्रमणको योजना बनाए । वि.सं. 1825 आश्विन 13 गते (इन्द्रजात्राको दिन) भीमसेनस्थान, टुँडिखेल र नरदेवी तीन दिशाबाट आक्रमण गरी काठमाडौंमाथि विजय प्राप्त भयो ।


ललितपुर र भक्तपुर विजय

काठमाडौंपछि पाटन (ललितपुर) विजय गर्ने क्रममा श्रीहर्ष पन्तलाई दूत बनाएर पठाउँदा पाटनका प्रधानहरूले आत्मसमर्पण गरे । सन् 1768 अक्टोबर 6 का दिन ललितपुर गोरखाको नियन्त्रणमा आयो । त्यसपछि जयप्रकाश मल्ल र तेजनरसिंह मल्ल भक्तपुरका राजा रणजित मल्लकहाँ शरणमा पुगे । तर रणजित मल्लले आत्मसमर्पण अस्वीकार गरेपछि वि.सं. 1826 कात्तिक शुक्ल द्वादशीका दिन गोरखाली सेनाले भक्तपुरमाथि आक्रमण गरी अन्ततः विजय प्राप्त गर्‍यो । यससँगै उपत्यकाका तीनै राज्य गोरखालीहरूको अधीनमा आए ।


पूर्वी र पश्चिमी विजयहरू

उपत्यका विजयपछि पृथ्वीनारायण शाहले चौदण्डी र विजयपुरजस्ता पूर्वका राज्यहरू पनि जिते । पूर्वी विजयपछि उनले रामकृष्ण कुँवरलाई प्युठान पठाएर बारुदखाना निर्माणको काम सुम्पिए । त्यही क्रममा सन् 1771 मार्च 21 मा पृथ्वीनारायण शाहको निधन भयो । रामकृष्ण कुँवरको निधनपछि उनका छोरा रणजीत कुँवरलाई जुम्लाको हाकिम नियुक्त गरियो । उनले शान्ति र सुव्यवस्था कायम गर्न सफल भए र उनलाई नेपालको चार काजीमध्ये एक बनाइयो ।


रणजीत कुँवरका सन्तानहरू

रणजीत कुँवरका तीन छोरा थिए — बालनरसिंह कुँवर, बलराम कुँवर र रेवन्त कुँवर । राजा रणबहादुर शाहका हत्यारा शेरेबहादुर शाहलाई मार्ने काममा सहयोग गरेबापत बालनरसिंह कुँवरलाई काजी बनाइयो । वि.सं. 1814 डिसेम्बर 24 मा काजी बालनरसिंह कुँवरको निधन भयो ।

Categories

  • Current Affairs 724
  • Gorkhapatra 327
  • Others 1123
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Asia
Others

एसिया महादेश

  • Jul 28, 2026
  • 83
World Hepatitis Day, 2026
Current Affairs

विश्व हेपाटाइटिस दिवस, २०२६

  • Jul 28, 2026
  • 74
Major grasslands of the world and their locations
Others

विश्वका प्रमुख घाँसेमैदानहरू र अवस्थिति

  • Jul 27, 2026
  • 61
Gandaki Province, 5th Level Sub-Engineer (Civil/Sanitary/Irrigation) - 2083/03/29
Past Questions

गण्डकी प्रदेश, ५औँ तह सब-इन्जिनियर (सिभिल/स्यानिटरी/इरिगेशन) - २०८३/०३/२९

  • Jul 27, 2026
  • 109
Gandaki Province, Sub-Engineer (B.Arch) Examination - 2083/04/04
Past Questions

गण्डकी प्रदेश, सब-इन्जिनियर (B.Arch) परीक्षा - २०८३/०४/०४

  • Jul 27, 2026
  • 49
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA