Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

मजदुरमैत्री श्रम ऐन, २०७४

  • Ajnabee Khadka
  • September 30, 2023
  • 790

मजदुरमैत्री श्रम ऐन, २०७४

मजदुरमैत्री श्रम ऐन, २०७४

हरेक वर्ष मे १ तारिखको दिनलाई विश्वभर अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवका रूपमा मनाइन्छ । यो दिनले मालिक र श्रमिकबीच भेदभाव नहोस् भन्ने सन्देश पनि प्रवाह गर्छ ।

नेपालको संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसद्ले श्रम ऐन २०७४ बनाएको हो । उक्त ऐनको प्रस्तावनामा श्रमिकको हक, हित तथा सुविधाको व्यवस्था गर्न, श्रमिक र रोजगारदाताको अधिकार तथा कर्तव्यको स्पष्ट व्यवस्था गरी असल श्रम सम्बन्धको विकास गर्न, श्रम शोषणका सबै अवस्थालाई अन्त्य गरी उत्पादकत्व वृद्धि गर्न श्रमसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकाले श्रम ऐन २०७४ लागू गरिएको स्पष्ट पारिएको छ । उक्त ऐनले समग्रमा श्रमिक र कामदारका बीच पुलको काम हुनेमा सहजै विश्वास गर्न सकिन्छ । यस ऐनमा १८३ वटा दफाको व्यवस्था गरिएको छ । त्यस्तै गरी नेपाल राजपत्रमा २०७५ असार ८ गते श्रम नियमावली २०७५ प्रकाशित गरी श्रमिकको हकाधिकार सुरक्षित गरिएको छ ।

श्रमिकलाई सामाजिक सुरक्षासहितको श्रम ऐन २०७४ ले श्रमिकका स्रोतमा महत्वपूर्ण र ऐतिहासिक कार्यसमेत गरेको पाइन्छ । कर्मचारीको सञ्चयकोष, उपदानलगायतका विषयमा नयाँ ऐनले प्रस्ट व्यवस्था गरेको देखिन्छ । नयाँ ऐनले श्रमिक आपूर्ति कम्पनीमार्फत लिइएको श्रमिकको तलब, सुविधा नपाएको खण्डमा यसको दायित्व मुख्य रोजगारदाताको हुने व्यवस्था गरेको छ । मुलुकलाई समृद्धि र विकासको लक्ष्यसम्म पु¥याउनका लागि सबैको महìवपूर्ण योगदान रहेको हुन्छ । नेपाल सरकारले श्रमिककै हकहितका लागि सामाजिक सुरक्षाको समेत छुट्टै व्यवस्था गरी कार्यान्वयनमा आउनुलाई सकारात्मक रूपमा लिन सकिन्छ । श्रम ऐन २०७४ कार्यान्वयन चुनौतीपूर्ण रहेको व्यवसायी र मजदुरले समय समयमा बताइरहेका छन् । ठूला संस्था, कार्यालयमा भन्दा पनि थोरै सङ्ख्यामा रहेका कर्मचारी रहेको स्थानमा ऐन कार्यान्वयन गराउन कठिन हुने आशङ्का गरिएको छ । श्रम क्षेत्रका विगतका विभिन्न समस्या समाधान गर्ने हेतुले श्रमसम्बन्धी ऐन सुधार गर्दै÷परिमार्जन गर्दै नयाँ युगको सुरुवात भएको मान्न सकिन्छ ।

श्रम ऐन सुधारका लागि विगतमा भएका सात बुँदे, १९ बुँदे र ११ बुँदे सहमति हुँदै रोजगारदाता र ट्रेड युनियनको संयुक्त सहमतिमा नयाँ श्रम ऐनको मस्यौदा तयार गरी सम्मानित संसद्मा व्यापक छलफलपश्चात् पारित भएको यो ऐन श्रम क्षेत्रकै ऐतिहासिक सफलता मान्न सकिन्छ । श्रम ऐन कार्यान्वयनसँगै श्रम ऐन २०४८, औद्योगिक प्रशिक्षार्थी ऐन २०३९, निवृत्त कोष ऐन २०४२ खारेज भएका छन् । नयाँ श्रम ऐनमा महिला कामदारलाई विशेष व्यवस्था गरिएको छ । गैरकानुनी हडतालको पारिश्रमिक नपाउने, घरेलु कामदारदेखि एक मात्रै कामदार रहेको सबै खालका प्रतिष्ठानमा लागू, सात लाखको दुर्घटना र एक लाखको औषधि उपचार बिमा, हडताल गर्न नपाइने, हितको विषयमा मेलमिलाप नभएपछि मात्रै हडताल गर्ने सुविधा छ । खराब आचरणका मालिक÷कामदारलाई एक वर्षसम्म कैद, स्थायी र अस्थायीको विभेदको अन्त्य, चार किसिमको रोजगारीको व्यवस्था, श्रम अदालतमा तीन जना न्यायाधीशको व्यवस्था, काम थालेको मितिदेखि नै सबै कामदारलाई सञ्चय कोष र उपदानको व्यवस्था पनि नयाँ ऐनमा छ । हरेक प्रतिष्ठानमा व्यवसायजन्य सुरक्षाको नीति अनिवार्यलगायतका व्यवस्था गरिएका छन् । यो ऐनमा विविध विशेषता रहे पनि यसमा रहेका कमी कमजोरी हटाउँदै अघि बढ्नुपर्ने आवश्यकता छ ।

श्रम ऐन २०७४ मा औपचारिक, अनौपचारिक तथा स्वरोजगार गरी जुनसुकै काममा संलग्न श्रमिकको हकहितको संरक्षण गर्ने उद्देश्य राखिएको छ । यो ऐनमा सबै प्रकारका श्रमिकले काम गरेको प्रत्येक दिनको पारिश्रमिकका साथसाथै सामाजिक सुरक्षा प्राप्त गर्नसक्ने व्यवस्था गरेको छ । त्यस्तै गरी यो ऐनले अनौपचारिक क्षेत्रलाई समेट्न सफल भएको छ । ऐनले स्थायी र अस्थायी रहने व्यवस्थालाई हटाई नियमित, कार्यगत, समयगत, आकस्मिक र आंशिक कामदारका रूपमा रहने व्यवस्था गर्नु र जुनसुकै खालका कामदार भए पनि रोजगारदाताले नियुक्ति भएदेखि नै प्रत्येक श्रमिकको आधारभूत पारिश्रमिकबाट लाभान्वित हुने व्यवस्था गरिएको छ ।

कर्मचारीलाई समान कामको समान ज्याला दिने व्यवस्था श्रम ऐन २०७४ मा गरिएको छ । अर्कातिर कर्मचारीलाई स्थायी र अस्थायीको प्रावधान राखेर कर्मचारीबीच फाटो ल्याउन खोजिएको देखिन्छ । श्रमिकको पक्षमा काम गर्ने ट्रेड युनियनले सामाजिक सुरक्षा पाएको र रोजगार सिर्जनाका लागि ढोका खुलेको महसुस गरे पनि व्यवहारमा भने त्यसो भएको देखिँदैन । यो ऐन कार्यान्वयन भएसँगै रोजगारदाताको सम्मान, रोजगार सिर्जनासँगसँगै नयाँ लगानी भित्रिने र मुलुकले आर्थिक समृद्धिको क्षेत्रमा उल्लेख्य प्रगति गर्न सकिने विषय पनि रहेको थियो । व्यवहारमा भने खासै परिवर्तन भएको देखिँदैन ।

श्रम ऐनले समग्रमा श्रम क्षेत्रको सुधारका लागि कोसेढुङ्गा नै साबित हुनेमा दुई मत हुन सक्दैन । श्रम ऐनको कार्यान्वयनका लागि रोजगारदाता र ट्रेड युनियन दुई पक्षबीच समझदारी र सहकार्य हुनुपर्छ । पारित भएको श्रम ऐन सामाजिक सुरक्षा, श्रम, प्रशासन, लैङ्गिक समानता, श्रम लचकता, सामूहिक सौदाबाजी, ट्रेड युनियन, अनौपचारिक क्षेत्र र व्यवसायबाट बाहिरिने विषयमा केन्द्रित रहेका कारण पनि आमनागरिकले सकारात्मक रूपमा लिनुपर्छ । यो ऐनले विगतमा हुने गरेको श्रमिक र रोजगारदाताबीचको असमझदारीको समेत अन्त्य गरेको छ । लगानी वृद्धि गरी मुलुकभित्रै नयाँ रोजगारी सिर्जना गर्न र श्रमिक वर्गका आधारभूत सुविधा र हितको सुनिश्चितता, सबै ट्रेड युनियनको प्रतिनिधित्व हुनेगरी सौदाबाजी परिषद् वा समिति गठनको व्यवस्थासमेत यो ऐनमा गरिएको छ ।

श्रम ऐनमा गरिएका व्यवस्थाले ठूलो सङ्ख्यामा रहेको असङ्गठित क्षेत्रका स–साना उद्योग र व्यवसायलाई प्रभाव पार्ने हुँदा यस ऐनको कार्यान्वयन चुनौतीपूर्ण रूपमा रहेको अनुमान पनि लगाउन सकिन्छ ।

श्रम ऐन २०७४ मा भएका प्रावधान निकै राम्रा र उत्कृष्ट रहेका छन् । औद्योगिक प्रतिष्ठानमा कार्यरत कर्मचारीको हकहितका लागि खोलिएका ट्रेड युनियनले विभिन्न माग उद्योग, व्यवसाय बन्द हुँदै आएकोमा ती कार्य बन्द हुँदै गएका छन् । कर्मचारी अनुशासित, मर्यादित र काम गर्ने कार्यालय प्रतिबद्ध भई काम गर्न थालेका छन् । स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै दिइएको जिम्मेवारीसमेत पूरा गर्दै अघि बढिरहेका छन् । कुनै कुनै कम्पनी, व्यापारीले कर्मचारीले पाउनुपर्ने न्यूनतम सेवा सुविधासमेत नदिई काम गराइरहेको उदाहरण हामीमाझ नभएको होइन । श्रम शोषणका विरुद्धमा आवाज बुलन्द गर्नेलाई कामबाटै बर्खास्ती गर्नेजस्ता क्रियाकलाप पनि हुँदै आइरहेका छन् । यिनको निराकरण गर्न सम्बन्धित निकायको ध्यान जानुपर्छ । त्यस्तै गरी आफूलाई उपयुक्त नलागेका कर्मचारीलाई बर्खास्ती गर्न कुनै समय कुर्नुनपर्ने भएको छ ।

सङ्गठित भएर मागदाबी नगरेसम्म रोजगारदाताले सेवा–सुविधा, न्यूनतम ज्याला, सामाजिक सुरक्षा दिन नचाहने प्रवृत्तिलाई अन्त्य गर्नसमेत कठिन हुने देखिन्छ । यस ऐनमा श्रमिक र रोजगारदाताबीच श्रम विवादलाई निरुपण गर्न श्रम अदालतको व्यवस्था हुने भए पनि सबै अन्यायमा परेका श्रमिक श्रमिक अदालतसम्म पुग्न सक्ने देखिँदैनन् । धेरै वर्षअघि देखिका मजदुरको मागलाई सम्बोधन गरिएको भनिएको यो ऐनले मूर्तता पाउन मजदुर र मालिकबीच आपसी एकता, संवाद र सहकार्य हुनु जरुरी छ । कुनै पनि ऐनको सकारात्मक र नकारात्मक पक्ष रहे पनि नकारात्मक विषयलाई दुवै पक्ष बसी समस्या समाधान गर्दै जानुपर्छ । ऐनसँग बाझिएका र मजदुरविरोधी प्रावधानलाई ऐन संशोधन गर्दै अगाडि बढ्न सकेमा दुवै पक्षलाई फाइदा पुग्नेछ । यो ऐनको मूल उद्देश्य र भावनाबमोजिम दुवै पक्षअगाडि बढ्न सकेमा देश विकासको कार्यमा समेत मद्दत पुग्नेमा दुईमत हुन सक्दैन ।

श्रमिक, रोजगारदाता र सरकारबीच आपसी एकता र इच्छाशक्ति नभएमा यो ऐनको औचित्यमाथि नै प्रश्नचिह्न खडा हुनसक्छ । मजदुरको हकहितका लागि बर्सेनि मे १ का दिन अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ । खास गरी नेपालबाट दिनहुँ सयौँको सङ्ख्यामा नेपाली मजदुर बाहिरिने परिपाटीलाई अन्त्य गर्दै स्वदेशभित्रै रोजगारीको व्यवस्था नेपाल सरकारले समयमै मिलाई विदेशिन बाध्य पारिने क्रियाकलाप अन्त्य हुनु आवश्यक छ ।

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 79
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 327
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 273
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 301
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 423
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA