Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

व्यक्तिगत घटना दर्ता सम्बन्धी धेरैजसो सोधिने प्रश्नहरु र द्रुत तथ्यहरू

  • Ajnabee Khadka
  • September 24, 2023
  • 1618

व्यक्तिगत घटना दर्ता सम्बन्धी धेरैजसो सोधिने प्रश्नहरु र द्रुत तथ्यहरू

व्यक्तिगत घटना दर्ता सम्बन्धी धेरैजसो सोधिने प्रश्नहरु र द्रुत तथ्यहरू

१. व्यक्तिगत घटना दर्ता के हो ?

उत्तर: व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाईँ सराईँ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ ।

२. व्यक्तिगत घटना दर्ता गर्नु जरुरी छ/छैन ?

उत्तर: जरुरी छ । व्यक्तिले राज्यबाट पाउने सेवा सुविधा र हक स्थापनाका गर्न कानून बमोजिम गर्ने व्यवहारका लागि व्यक्तिगत घटना दर्ताका प्रमाणपत्र जरुरी हुन्छ ।

३. व्यक्तिगत घटना दर्ता कहाँ गरिन्छ ?

उत्तर: सम्बन्धित व्यक्ति स्थायी बसोबास गरेको गाउँपालिका वा नगरपालिका ।

४. व्यक्तिगत घटना कसले गर्दछ ?

उत्तर: स्थानीय पञ्जिकाधिकारीले ।

५. स्थानीय पञ्जिकाधिकारी कसलाई भनिन्छ ?

उत्तर:

(क) नगरपालिकाहरुका हकमा वडा सचिव र वडा सचिव नभएको अवस्थामा पञ्जिकाधिकारी (रजिस्ट्रार) को सहमतिमा नगरपालिकाको सचिवले तोकेको स्थानीय निकायको कर्मचारी,
(ख) गाउँपालिकाको हकमा गा.पा.को सचिव र गा.पाको सचिव नभएको अवस्थामा पञ्जिकाधिकारी (रजिस्ट्रार) ले तोकिदिएको स्थानीय निकायको कर्मचारी |

६. व्यक्तिगत घटना दर्ताको लागि सूचक को हुन्छ ?

उत्तरः व्यक्तिगत घटना दर्ताको लागि देहाय बमोजीमका सूचक हुन सक्दछन् ।

७. बाबुको ठेगाना नभएका बच्चाको आमाको नामबाट जन्म दर्ता गर्न मिल्दछ ?

उत्तर : मिल्दछ । बाबुको ठेगान नभएका बच्चाको जन्मदर्ता गर्न सूचना फारामको बाबुको विवरणको महलमा ठेगान नभएको व्यहोरा लेखि आमा सूचक बनि जन्मको घटना दर्ता गर्न सकिन्छ ।।

८. आमा र बुवा दुवै नभएका बच्चाको जन्मदर्ता गर्न मिल्दछ ?

उत्तर : मिल्छ । विस्तृत जानकारी प्रश्न ५ को सूचकको महलमा उल्लेख छ ।

९. मावली हजुरबुवा वा हजुरआमा पनि सूचक हुन सक्दछन ?

उत्तर : सक्दैनन् ।

१०. विदेशी नागरिकको जन्म दर्ता गर्न मिल्दछ ?

उत्तर: बच्चा नेपालमा जन्मेको हो भने मिल्छ ।

११. नेपाली आमाबाट विदेशमा जन्मी बाबुको पत्ता नलागेको बच्चाको जन्म दर्ता गर्न मिल्दछ ?

उत्तर : मिल्दछ । यसो गर्दा बालकको जन्म दर्ता गर्दा प्रमाणपत्रमा नेपाली राजदुतावास वा महावाणिज्य दुतावासले उपलब्ध गराएको Travel Document मा उल्लेखित विवरण (जस्तै जन्म स्थान, देश र जन्म मिति) उल्लेख गर्नु पर्दछ । यसबाहेक जन्म दर्ता प्रमाणपत्रमा विदेशी हो भने विदेशी र थाहा नभएको अवस्थामा थाहा नभएको उल्लेख गर्नु पर्दछ ।

१२. के कारागारमा जन्मेका/रहेका बच्चाको पनि जन्म दर्ता गर्न मिल्दछ ?

उत्तर : कारागारमा जन्मेका/रहेका बालबालिकाको कारागारमा रहेको व्यहोरा प्रमाणित भई आए बमोजिम जन्म दर्ता गर्न मिल्दछ ।

१३. के शैक्षिक प्रमाणपत्रको आधारमा जन्म मिति सच्याउन सकिन्छ ?

उत्तर : सकिन्छ । तर एस.एल.सी. उत्तीर्ण भएको मितिले ६ महिना नाघेको अवस्थामा मात्र एस.एल.सी. को लव्धाकं पत्र र विद्यालयले दिएको चारित्रिक प्रमाणपत्रको आधारमा जन्म मिति सच्याउन सकिने व्यवस्था रहेको छ । एस. एल. सी. उत्तिर्ण भएको ६ महिनाभित्र जन्म दर्ता प्रमाणपत्रको आधारमा एस. एल. सी बार्डले शैक्षिक प्रमाणपत्रमा विवरण सच्याई दिने व्यवस्था रहेको छ ।

१४. बाबुआमा नभएका व्यक्तिको पालनपोषण गर्ने व्यक्ति सूचक बनी जन्म दर्ता गर्न मिल्दछ ?

उत्तर: मिल्दैन । यसमा प्रश्न ५ को सूचकको महलमा उल्लेख भए बमोजिम स्थानीय तहका पदाधिकारीले सूचक बस्नु पर्ने हुन्छ ।

१५. विदेशी नागरिकको मृत्यु दर्ता गर्न मिल्दछ ?

उत्तर: मिल्दछ ।

१६. विदेशी नागरिकको मृत्यु दर्ता गर्न को सूचक हुन्छ र के के कागजातको आवश्यकता पर्दछ ?

उत्तर : सम्बन्धित देशको राजदुतावास वा नियोगले प्रमाणित गरिदिएको सूचक वा आधिकारिक व्यक्तिले सूचक हुन पाउँछ । यसका लागि निम्नानुसारको थप कागजात समेत चाहिन्छ । क. मृत्यु भएको अस्पताल वा प्रहरी प्रतिवेदन, ख. सम्बन्धित देशको राजदुतावासको सिफारिस वा कुनै कार्यालय वा योजनामा कार्यरत रहेको भए प्रमुखको रितपूर्वकको पत्र ।

१७. विदेशी नागरिक र नेपाली नागरिक बीच भएको विवाह दर्ता गर्न मिल्दछ ?

उत्तर : मिल्दछ । विदेशी नागरिक र नेपाली नागरिक बीच भएको विवाह प्रमुख जिल्ला अधिकारी वा कानूनले तोकेको अधिकारीद्वारा विवाह दर्ता ऐन, २०२८ बमोजिम प्रदत्त विवाहको प्रमाण देखिने कागजातको आधारमा मात्र दर्ता गर्न सकिन्छ ।

१८. नेपाली पुरुष र भारतीय महिलाबीच भएको विवाह दर्ता गर्न के गर्नु पर्दछ ?

उत्तर : यस्तो विवाह दर्ता गर्न विवाह दर्ता ऐन, २०२८ को प्रकृया पुरा गर्नु पर्दैन तर विवाह दर्ता प्रमाणपत्रमा पत्नीको नागरिकता नम्बरको महलमा भारतीय पासपोर्ट नम्बर वा भारतीय नागरिक जनिने विवरण उल्लेख गर्नु पर्दछ ।

१९. वेपत्ता भएका नागरिकको विवाह दर्ता गर्न के गर्नुपर्दछ ?

उत्तर : वेपत्ता भएको आधिकारिक प्रमाण, विवाहित महिलाको सासू वा ससुरा वा देवर वा जेठाजु भएमा निजहरुमध्ये १ जना समेत कम्तीमा ५ जना भएको स्थलगत सर्जमिन मुचुल्काको आधारमा वेपत्ता भएका नागरिकको विवाह दर्ता गर्न सकिन्छ ।

२०. पतिले विवाह दर्ता गर्न इन्कार गरेको खण्डमा के गर्नुपर्दछ ?

उत्तर : पतिले विवाह दर्ता गर्न ईन्कार गरेमा नाता कायम भएको प्रमाणपत्र वा नाता कायमबारे अदालतको फैसलाको आधारमा विवाह दर्ता गर्नुपर्दछ ।

२१. के विदेशमा सम्बन्ध बिच्छेद भएकाको दर्ता नेपालमा गर्न मिल्दछ ?

उत्तर : दौत्य सम्बन्ध भएको मुलुकको अदालतमा सम्बन्ध विच्छेद गर्ने नेपाली नागरिकको हकमा नेपाली राजदुतावास/महावाणिज्यदुतावासबाट प्रमाणित अदालतको फैसलाको आधारमा दर्ता गर्न मिल्दछ ।

२२. सम्बन्ध विच्छेदको दर्ता कहाँ गर्नु पर्दछ ?

उत्तरः सम्बन्ध विच्छेदको घटना दर्ता पतिको स्थायी ठेगाना भएको गा.पा./न.पा.मा मात्र गर्नु पर्दछ ।

२३. विवाह दर्ता गर्न जन्म दर्ता आवश्यक छ छैन?

उत्तरः छैन । तर पति–पत्नीको व्यक्तिगत विवरण विवाह दर्ता एवं जन्म दर्ता प्रमाणपत्रहरुमा फरक नपरोस भनी सुनिश्ति गर्नका लागि आवश्यक पर्न सक्छ ।

२४. बसाईँ सराईँ दर्ता गर्दा घरजग्गा हुनु आवश्यक छ छैन ?

उत्तरः मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता गर्ने ऐन, २०३३ को दफा २ को आशय बमोजिम ६ महिना भन्दा बढी अवधिदेखि सो ठाउँमा बसोबास गरेका छन् छैनन भन्ने हेर्ने आधार आवश्यक पर्छ ।

२५. मतदाता परिचयपत्र भएको तर बसाईँ सराईँ नभएको व्यक्ति र परिवारसँग सम्बन्धित घटना दर्ता कहाँ गर्ने ?

उत्तर : मतदाता परिचयपत्र पाउने र व्यक्तिगत घटना दर्ता दुई अलग अलग कानून अनुसार हुने हुँदा व्यक्तिगत घटना दर्ता सम्बन्धित व्यक्तिको स्थायी ठेगाना भएको स्थानको पञ्जिकाधिकारीबाट हुनु पर्छ । मतदाता परिचयपत्र भएकै स्थानमा दर्ता गर्ने चाहना हो भने पहिले सेवाग्राहीले बसाईँ सराईँ गराउनु पर्छ ।

२६. व्यक्तिगत घटना दर्ता गर्दा नागरिकताको प्रमाणपत्र आवश्यक हुन्छ हुँदैन ?

उत्तरः प्रमाणपत्रमा नागरिकता नं. उल्लेख हुनु पर्छ । जस्तै :– जन्म दर्तामा बाबु र आमाको, मृत्यु दर्तामा मृतकको, विवाह दर्तामा पति र पत्नीको, सम्बन्ध विच्छेद दर्तामा दर्ता माग गर्ने पति वा पत्नीको र बसाईँ सराईँमा सूचकको । त्यस्तै व्यक्तिगत घटना दर्ता नेपालमा बसोबास गर्ने विदेशीका लागि पनि भएकोले नागरिकताको सट्टा विदेशी नागरिकको पासपोर्ट नम्बर उल्लेख गर्नु पर्छ ।

२७. पहिले जारी भएको प्रमाणपत्रको प्रतिलिपि माग गरेको अवस्थामा नयाँ ढाँचामा प्रतिलिपि दिने मिल्छ वा मिल्दैन ?

उत्तर: मिल्दछ । सामान्यतया अङ्ग्रेजी भाषामा समेत प्रमाणपत्र लिने प्रयोजनका लागि सेवाग्राहीले यस्तो माग गर्न सक्छन् । स्थानीय पञ्जिकाधिकारीले यस्तोमा पुरानो प्रमाणपत्र कार्यालयको अभिलेखमा रहने गरी खिची लिने र अङ्ग्रेजी तथा नेपाली दुवै भाषा भएको प्रमाणपत्रको प्रतिलिपि प्रदान गर्नु पर्छ ।

२८. स्थानीय पञ्जिकाधिकारीको दस्तखत नभएको प्रमाणपत्रको कसैले नक्कल माग गरेको अवस्थामा के गर्ने ?

उत्तरः यस्तो अवस्थामा दर्ता किताब हेरी एवं तत्कालिन पञ्जिकाधिकारीको दस्तखतको नमूना समेत भिडाई जारी गर्ने अधिकारीको नाम कतै उल्लेख भएको पाईएमा नाम समेत राखी प्रमाणपत्र दिने । दर्ता किताबबाट पनि नाम पत्ता नलागेमा तर प्रमाणपत्रमा उल्लेखित सबै व्यहोरा दुरुस्त भएको अवस्थामा स्थानीय पञ्जिकाधिकारीको नाम, थरको ठाउँमा “द.” मात्र लेख्ने । प्रमाणपत्रको प्रतिलिपि जारी गर्दा पञ्जिकाधिकारीको नाम, थर, र मिति राखी दस्तखत समेत गरी प्रमाणित गर्ने ।

२९. नेपाली र अंग्रेजी भाषामा प्रमाणपत्र जारी गर्दा कुन भाषामा दस्तखत गर्ने ?

उत्तरः यसमा दुई अलग अलग दस्तखत गर्न हुँदैन । कार्यालय दैनिक प्रयोजनमा जे दस्तखत गरिन्छ, त्यही दस्तखत नेपाली र अँग्रेजी दुवै व्यहोराको अन्त्यमा गर्नु पर्छ ।

 

द्रुत तथ्यहरू:

– ‘व्यक्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तिका लागि जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्ध विच्छेदलगायतका व्यक्तिगत घटना घटना घटेको ३५ दिनभित्र आफ्नो वडा कार्यालयमा दर्ता गरौँ– गराऔँ’ भन्ने मूल सन्देशसाथ यो वर्ष व्यक्तिगत घटना दर्ता सप्ताह मनाइएको ।

– नेपालमा वि.सं. २०३४ वैशाख १ देखि जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ को कार्यान्वयनसँगै व्यक्तिगत घटना दर्ता कार्यको सुरुवात भएको ।

– व्यक्तिको कानुनी पहिचान र सेवा प्रवाह प्राप्त गर्ने अधिकार सुनिश्चित गर्ने क्रममा व्यक्तिगत घटना दर्ता

– कार्यलाई थप व्यवस्थित बनाउन हाल राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ कार्यान्वयनमा रहेको ।

– युनाइटेड नेसन्स इकोनोमिक एन्ड सोसियल कमिसन फर एसिया एन्ड प्यासिफिकले सन् २०१५ देखि २०२४ सम्मको दशकलाई एसिया प्रशान्त क्षेत्रमा व्यक्तिगत घटना दर्ताको दशकका रूपमा मनाउने घोषणा गरेको ।

– नेपालले सन् २०२४ सम्ममा जन्म र मृत्युजस्ता व्यक्तिगत घटना दर्तालाई शतप्रतिशत पु¥याउने लक्ष्य लिएको ।

– २०७८ को राष्ट्रिय जनगणनाअनुसार पाँच वर्ष वा सोभन्दा कम उमेरका बालबालिकामध्ये ७४ प्रतिशतको मात्रै जन्मदर्ता भएको देखिएको ।

– राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ र नियमावली, २०७७ ले घटना घटेको ३५ दिनभित्र स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जन्म, विवाह, सम्बन्ध विच्छेद, बसाइँसराइ र मृत्युजस्ता व्यक्तिगत घटना निःशुल्क दर्ता हुने व्यवस्था गरेको ।

– स्थानीय तहका छ हजार ७४३ वडामध्ये छ हजार ५७६ वडाका घटना अनलाइनमा नै दर्ता गर्ने गरिएको । हालसम्म अनलाइन माध्यमबाट करिब ४८ लाख व्यक्तिगत घटना दर्ता भइसकेका ।

– ६९७ स्थानीय तहमा व्यक्तिगत घटनाका पुराना अभिलेखहरू ‘डिजिटाइजेसन’ गर्ने कार्य

सम्पन्न भइसकेको ।

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 34
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 83
World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 85
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 123
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA