Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

स्थानीय सरकारले तर्जुमा गर्नुपर्ने ऐनहरू र पाएका अधिकारहरू

  • Ajnabee Khadka
  • September 21, 2023
  • 422

स्थानीय सरकारले तर्जुमा गर्नुपर्ने ऐनहरू र पाएका अधिकारहरू

स्थानीय सरकारले तर्जुमा गर्नुपर्ने ऐनहरू र पाएका अधिकारहरू

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको कार्यान्वयन सँगै देशमा बहुतहका सरकारले शासनमा आफ्नो क्षमता र दक्षता अनुरूप सहभागिता जनाइरहेका छन् । राज्य व्यवस्थामा सरकारको क्रियाशीलता र जिम्मेवारी देशको मूल कानुनबाट (संविधान) निर्देशित हुन्छ । हाम्रो देशमा पनि संविधानले निर्धारण गरेको सीमा र दिएको एकल र साझा अधिकार भित्र रहेर सङ्घ, प्रदेश र स्थानीय गरी तिन तहका सरकार शासन व्यवस्थामा सहभागी भइरहेका छन् । यहाँनेर सङ्घ सरकारले  प्रदेश र स्थानीय सरकारलाई संविधानले प्रदान गरेको अधिकारहरूका बारेमा प्रशिक्षित गर्नुपर्ने जिम्मेवारी संविधान र ‘सङ्घ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध सम्बन्धी ऐनले तोकेको जिम्मेवारी हो । जुन केही हदसम्म सङ्घीय सरकारले गर्दै आइरहेको छ र भविष्यमा समेत सो कार्यलाई निरन्तरता दिन्छ होला । यद्यपि सङ्घ सरकारले गरिदिन्छ भनेर मुख ताकेर बस्नुभन्दा दोस्रो कार्यकालको मध्य तिर पुग्न लागेका स्थानीय सरकारले समेत संविधानले दिएका सरकारका जिम्मेवारी खोज्नु बुद्धिमानी हुनसक्छ ।

तिनै तहका सरकारले विविध क्षेत्रमा सेवाको कार्य, देशको विकास र जनताको हित गर्ने पर्याप्त कानुनी  अवसर पाएका छन् । स्रोत साधन र अधिकारको परिधि भित्र  रहेर केही सरकारले यो अवसरको सही रूपमा सदुपयोग गर्ने कोसिस गरेको जस्तो देखिन्छ भने केही सरकार अझै पनि अन्य तहको अधिकार र जिम्मेवारीमा जताततै हात हाल्ने तर आफ्नो जिम्मेवारी भने नदेखी कुहिरोको कागझैँ रुमलिरहेको जस्तो अनुभूति आम सर्वसाधारणले गरिरहेका छन् ।

सरकारहरूबिचको सम्बन्ध सहकारिता सहअस्तित्व र समन्वयमा आधारित हुनेछ भनेर संविधानको धारा २३२ मा किटान गरिएको छ । जसअनुसार एकले अर्कोलाई विकास र प्रगतिमा सहयोग गर्ने कुरा धारा २३२ को मर्म हुन जान्छ । यसका साथै तिनै तहका सरकारलाई विकासमा अघि बढ्न केही स्वतन्त्रता सहित  एकल अधिकार र संयुक्त अधिकारहरूलाई संविधानमा अनुसूची बनाएर व्यवस्थित गरिएको छ । आजको दिन सम्ममा नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४, सङ्घ प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन २०७७ र सरकारले सार्वजनिक गरेको कार्यविस्तृतिकरण विवरण अनुसार स्थानीय सरकारलाई एकल अधिकारको रूपमा प्राप्त १७० वटा, साझा अधिकारको रूपमा प्राप्त ६० वटा , मौलिक हक, राज्यको निर्देशक सिद्धान्त र राज्यको नीति अन्तर्गत प्राप्त ७१ वटा र अन्य केही सङ्घीय कानुन अन्तर्गत प्राप्त १९ वटा गरी कुल ३१० अधिकारहरू प्राप्त देखिन्छ ।

प्राप्त अधिकारहरू मध्ये साझा अधिकारहरूको कार्यान्वयनका लागि सङ्घ र प्रदेश कानुनहरूको प्रयोग गर्न सकिने वा सङ्घ र प्रदेश कानुन अनुकूल कानुन निर्माण गर्नु पर्ने हुन्छ । तर एकल अधिकारको कार्यान्वयनका लागि  पालिकाहरुलेनै स्थानीय व्यवस्थापकीय कार्यविधि अपनाई केही न्यूनतम ऐनहरू निर्माण गरी कार्यान्वयनमा जानुपर्ने हुन्छ । यसर्थ एउटा स्थानीय सरकारलाई पूर्ण रूपमा सञ्चालन हुन र जनताका आवश्यकता अनुरूप दोहोरो नपर्ने गरी विकासका गतिविधि सञ्चालन गर्न आवश्यक पर्न सक्ने न्यूनतम प्रारम्भिक ऐनहरू प्रत्येक पालिकाहरूले अनिवार्य रूपमा निर्माण गर्नुपर्ने हुन्छ । अव यस आलेखमा त्यसरी पालिकाहरूले निर्माण गर्नुपर्ने न्यूनतम  ऐन र  त्यस अन्तर्गत गर्न सकिने मुख्य कार्यको विषयमा चर्चा गरिन्छ ।

१.प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन : नगरको दैनिक प्रशासन सञ्चालन गर्ने , अख्तियारी दिने , प्रशासकीय कार्य सञ्चालन गर्न आवश्यक, नियमावली र कार्यविधिहरू निर्माण गर्ने ।

२.आर्थिक ऐन : सालवसाली रूपमा नगर क्षेत्रभित्र वार्षिक रूपमा आय सङ्कलन गर्न, करका दरहरू र दण्ड जरिवानाको मानदण्ड अद्यावधिक गर्ने ।

३. विनियोजन ऐन : सालवसाली रूपमा विकास निर्माण लगायतका अन्य आवश्यक खर्च गर्ने ।

४ नगर प्रहरी ऐन : नगर क्षेत्रको शान्ति सुरक्षा र नगर भित्र हुने पर्व, जात्रा र महोत्सवहरूको व्यवस्थापन गर्ने , सार्वजनिक सम्पत्तिको संरक्षण र नगरका नीति,कानुन कार्यान्वयन गर्ने, विपद्को समयमा उद्धार र पुनर्स्थापना लाग्ने, न्यायिक समितिको निर्णयहरूको कार्यान्वयन गर्ने लगायत कार्यपालिकाले गरेका अन्य निर्णयहरू र दिएका अन्य आदेशहरूको कार्यान्वयन गर्ने ।

५. सहकारी ऐन : सहकारीको व्यवस्थापन र नियमन एवम् सहकारी मार्फत उत्पादनको वृद्धि र रोजगारीको सिर्जना गर्ने ।

६. तथ्याङ्क सङ्कलन तथा अभिलेख व्यवस्थापन ऐन : नगरको वास्तविक विकासको अवस्था पहिचान गर्न,  नगरमा भएका स्रोत साधनको पहिचान र सो मा आधारित विकासका गतिविधि सञ्चालनका लागि पूर्वाधारको रूपमा तथ्याङ्क सङ्कलन गर्न र नगरबाट भए गरेका निर्णय र कार्यको अभिलेख व्यवस्थापन गर्नका लागि ।

७. शिक्षा ऐन : नगर क्षेत्रमा आधारभूत र माध्यमिक शिक्षाको गुणस्तर अभिवृद्धि र सुधारका लागि , कोचिङ ट्युसन लगायतका शिक्षण संस्थाको अनुमति, नियमन र व्यवस्थापन गर्न र समग्र शिक्षा क्षेत्रको व्यवस्थापनका गर्न  ।

८. भवन तथा वस्ति विकास ऐन : नगर क्षेत्रमा व्यवस्थित वस्ति विकासका लागि ।

९. स्वास्थ्य तथा सरसफाइ ऐन : फोहर मैला व्यवस्थापनका लागि र स्वास्थ्य सेवा प्रवर्द्धनका लागि ।

१०. बजार व्यवस्थापन ऐन : स्थानीय उत्पादनको बजारीकरण र स्थानीय बजार व्यवस्थापन र नियमनका लागि ।

११. सडक तथा यातायात व्यवस्थापन ऐन : स्थानीय सडकको रुट निर्धारण, पार्किङ व्यवस्थापन र तिन पाङग्रे सवारी साधनको नियमन र व्यवस्थापनका लागि ।

१२.वातावरण संरक्षण ऐन : स्थानीय वातावरण संरक्षणमा स्थानीय प्रदूषकलाई जबाफदेही बनाउनका लागि, स्थानीय वातावरण तथा जैविक विविधताको संरक्षणका गर्नका लागी ।

१३. कृषि तथा पसुपंक्षी प्रसार ऐन : स्थानीय स्तरमा कृषि तथा पसुपंक्षीको व्यवसाय विस्तार गरी उत्पादनमा वृद्धि गर्नका लागि ।

१४. खानेपानी ऐन :  स्वच्छ खानेपानीको व्यवस्थापन गर्न ।

१५. विपद् व्यवस्थापनका ऐन : विपद्को व्यवस्थापन गर्न ।

१६. जलाधार तथा वन्यजन्तु संरक्षण ऐन : पानीको मुहान र पर्यावरण संरक्षण एवम् वन्यजन्तुको संरक्षण गर्न ।

१७. खानि तथा खनिज पदार्थ संरक्षण ऐन : स्थानीय स्तरमा उपलब्ध खानि तथा खनिज पदार्थ संरक्षण गर्न ।

१८.स्थानीय भाषा, कला, संस्कृति र सम्पदा संरक्षण ऐन : स्थानीय भाषा, कला, संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन गर्न ।

१९. गरिबी निवारण ऐन : गरिबी न्यूनीकरणका गर्न र रोजगारी वृद्धि गर्न ।

२०. वाल संरक्षण ऐन : बालबालिकाको चौतर्फी हितका र बालबालिका संरक्षण गर्न ।

२१. सार्वजनिक निजी साझेदारी ऐन : पूर्वाधार निर्माण र सञ्चालनमा निजी क्षेत्रसँग सहकार्य गर्न , निजी क्षेत्रलाई पूर्वाधार विकास र सञ्चालनको साझेदारको रूपमा प्रयोग गर्न ।

२२. सङ्घ संस्था दर्ता ऐन : सङ्घ संस्था दर्ता , व्यवस्थापन र नियमन गर्न ।

२३. उपभोक्ता हित संरक्षण ऐन : उपभोक्ता हित संरक्षण गर्न ।

२४. बौद्धिक सम्पत्ति संरक्षण ऐन : स्थानीय सिप , प्रविधि र बौद्धिक सम्पत्तिको अभिलेख र संरक्षण गर्न ।

यसरी समग्रमा स्थानीय सरकारको तुलनामा प्रदेश सरकार र प्रदेश सरकारको तुलनामा सङ्घ सरकार श्रोत साधन र विज्ञतामा सम्पन्न छ, तर आम सर्वसाधारण जनता बाट टाढा छ तर त्यसको विपरीत  स्रोत र साधनमा पछि रहेको भए पनि स्थानीय सरकार आम जनता सँग पहुँचको हिसाबले र प्राकृतिक श्रोतको उपलब्धता र पहिचानको हिसाबले  नजिक रहेको छ । तसर्थ उपलब्ध श्रोतको उच्चतम सदुपयोग गरी स्थानीय सरकारहरूले संविधान अनुसार पाएका अधिकारहरूको कार्यान्वयनका लागि स्थानीय व्यवस्थापकीय अधिकारको प्रयोग गरी स्थानीय ऐनहरू निमार्ण गर्नुपर्ने हुन्छ । जुन ऐनहरूको निर्माण पालिकाहरूले आफ्नो क्षमता र आवश्यकता अनुसार गरिरहेका पनि छन् । यद्यपि अबको समय भनेको सङ्घ र प्रदेशको मुख ताक्नु भन्दा पनि पालिकाहरूले  एक आपसमा असल अनुभवको आदान प्रदानगरि आवश्यक ऐनहरू निर्माण गरेर छायामा परेका वा पारिएका स्थानीय सरकारका ती तमाम अधिकारलाई प्रकाशमा ल्याउने र उपयोग गर्ने प्रयत्न गर्नुपर्छ । जसले सङ्घीयताको सफल कार्यान्वयन र विकासका गतिविधि सञ्चालनमा थप सहयोग पुग्नेछ ।

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 84
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 334
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 276
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 305
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 426
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA