Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

समावेशीकरण के हो ?

  • Ajnabee Khadka
  • September 21, 2023
  • 700

समावेशीकरण के हो ?

समावेशीकरण के हो ?

समावेशीकरण साझा शासनको अवधारणा हो । खास गरी राज्यको मूलधारमा आउन नसकेका वर्ग समुदायलाई मूलधारमा ल्याउन गरिने प्रयत्न हो समावेशीकरण । राज्यमा बञ्चितीकरण र बहिष्करणमा परेका वर्ग समुदायलाई प्रवाहीकरण गर्नुलाई पनि यसले जनाउँछ । यसले शासन प्रणालीका विभिन्न अङ्गहरूमा सबैको प्रतिनिधित्वको सुनिश्चितता गर्दछ । राष्ट्रमा सारभूत समानता कायम गर्ने, स्रोत र साधनमा सबैको पहुँच कायम राख्दछ समावेशीकरणले । त्यसैले यसलाई ‘राइट फुल सेयरिङ्ग अफ पावर, रिसोर्स एन्ड अपर्च्युनिटी’  पनि भनिन्छ ।

सन् १९९७ मा ग्रिक दार्शनिक टाकिस फोटोपाउलसले यो शब्दलाई लोकतन्त्रसँग जोडेका थिए । उनको प्रख्यात कृति ‘टूवार्ड ए्यान इनक्लुसिभ डेमोक्रेसी’ मार्फत यसको वकालत गरेका छन् । समावेशी राज्य स्थापना गर्ने एउटा महत्त्वपूर्ण आधारको रूपमा यसको अवधारणा विकास भएको हो ।

शासन व्यवस्थामा कुनै पनि कारण र आधारबाट कोही पनि बहिष्कृत हुनु हुँदैन । समाजमा सबैको अवस्था, क्षमता, हैसियत, परिवेश समान हुँदैन । राज्य नागरिकको अभिभावक हो । कुनै पनि कारण र आधारबाट राज्य व्यवस्थामा असमानता आउनु हुँदैन । यदि आएको छ भने त्यसलाई हटाउनुपर्दछ । त्यही हटाउने उपाय हो : समावेशीकरण । जसलाई विविधता व्यवस्थापनको पर्यायवाची भनेर पनि बुझिन्छ ।

समावेशीकरणका विधिहरू :
– सकारात्मक विभेद
– समानुपातिक प्रतिनिधित्व
– आरक्षण
– लक्षित वर्गका कार्यक्रमहरू
– सामाजिक सुरक्षा
– स्वायत्तता
– विशेष अधिकार प्रदान
– विकेन्द्रीकरण
– सङ्घीयता आदि

नेपालमा समावेशीकरण :
वि.स. २०४६ सालको पञ्चायती व्यवस्थाको खारेज गरी बहुदलीय व्यवस्था लागू भएसँगै समावेशीकरणका आवाजहरू कँहीकतै गुन्जे पनि २०६२/०६३ को जनआन्दोलन पश्चात् सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणासँगै यसको मुद्दाले सार्थकता पाएको थियो । नेपालको अन्तरिम संविधान, २०६३ ले समानुपातिक निर्वाचन प्रणाली संविधानसभाको निर्वाचनमा प्रयोग गरेसँगै हाम्रो संविधानसभा समावेशी बन्यो । वर्तमान नेपालको संविधान, २०७२ लाई सरसरती हेर्दा सिङ्गो संविधान नै समावेशीकरणलाई व्यवस्थापन गर्न बनेको दस्ताबेज जस्तो लाग्दछ । समावेशी संरचनाको संविधानसभाले निर्माण गरेको संविधानले शासनमा सबैको मूल प्रवाहीकरणको उद्देश्य राखेको छ । नेपालको संविधान, २०७२ मा भएका केही प्रतिनिधि व्यवस्थाहरू देहायबमोजिम छन् –
१- संविधानको प्रस्तावनामा नै विविधताको सम्बोधन गरिएको छ ।
२- धारा ३ र ४ मा राष्ट्र र राज्यको परिभाषामै यसको प्रतिबिम्ब देख्न पाइन्छ ।
३- धारा १८ मा सकारात्मक विभेद सहितको समानताको हकको व्यवस्था छ ।
४- धारा ४२ र ४३ मा सामाजिक न्याय, सामाजिक सुरक्षाको विषय संविधानमा सम्बोधन गरिएको छ ।
५- धारा ५१ (ञ) मा सामाजिक न्याय र समावेशीकरण सम्बन्धी १४ वटा नीतिहरू अङ्गीकार गरिएको छ ।
६- तिन तहका कार्यपालिका (सङ्घीय, प्रदेश र स्थानीय ) समावेशी संरचनामा बनाउनु पर्ने संवैधानिक प्रावधान छ ।
७- समावेशीकरणलाई सफल पार्न भाग २७ मा विभिन्न ७ वटा आयोग स्थापना गर्ने संवैधानिक व्यवस्था छ । जसमा महिला आयोग, दलित आयोग, समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोग छन् ।
८- नेपाली सेना, राजदूत, संवैधानिक नियुक्ति र सरकारी सेवा समावेशी गराउनु पर्ने संवैधानिक व्यवस्था छ । (धारा २६७, २८२, २८३ र २८५ )

कानुनी व्यवस्था :
१- सुशासन सञ्चालन तथा व्यवस्थापन ऐन, २०६४ को दफा ६ ले सार्वजनिक प्रशासन सञ्चालन गर्ने मूल्यको सूचीमा समावेशीकरणलाई समेटेको छ ।
२- निजामती सेवा ऐन लगायतका ऐनहरूले सार्वजनिक सेवाहरूमा आरक्षण सहितको नीति अङ्गीकार गरेको छ ।
३- १५ ओँ पञ्चवर्षीय योजनाले राज्यका सबै नागरिकको उपस्थिति र अर्थपूर्ण सहभागितामा समावेशी विकास गर्ने सोच र मानव विकास सूचकाङ्कको आधारमा पछाडि परेका समुदायको सशक्तीकरण र समानुपातिक विकास गर्ने लक्ष्य राखेको छ ।
४- नीतिगत तहमा समानुपातिक प्रतिनिधित्व, सहभागिता र सकारात्मक विभेदको माध्यमबाट आर्थिक र सामाजिक रूपान्तरण गर्ने प्रमुख रणनीतिका साथ विविधता व्यवस्थापन गर्ने प्रयास भएको देखिन्छ ।

संस्थागत व्यवस्था :
– राष्ट्रिय दलित आयोग
– राष्ट्रिय मधेसी आयोग
– राष्ट्रिय मुस्लिम आयोग
– राष्ट्रिय महिला आयोग
– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
– स्थानीय सरकार अन्तरगतका शाखा उपशाखाहरू
– लक्षित वर्गको हकहितमा कार्यरत सरकारी तथा गैरसरकारी सङ्घ सङ्गठनहरू
– राष्ट्रिय मानव अधिकार आयोग
– संसदीय समितिहरू आदि

समीक्षा :
समावेशी शासन विधिको अभ्यास १३ वर्ष पूरा भइसकेको छ । केही सकारात्मक परिवर्तनहरू देखा परेका छन् । संविधान सभाको बनावटले महत्त्वपूर्ण सङ्केत गरेको छ । समानुपातिक निर्वाचन प्रणालीले पछाडि परेका पारिएका वर्ग समुदायहरू मूलधारमा आउन थालेका छन् । आरक्षणको अभ्यासबाट सार्वजनिक प्रशासनमा विविधताको प्रतिबिम्ब देखिन थालेको छ । प्रतिस्पर्धाको दायरा बढेको छ । सार्वजनिक सेवा प्रवाहमा केही सहजता अनुभव गरिएको छ । यसले शासन प्रणालीप्रति अपनत्व बोध र अधिकारमुखी अवधारणा विकास गराउन मद्दत पुगेको देखिन्छ । समावेशीकरणको प्रावधान १० वर्षमा पुनरावलोकन गर्ने व्यवस्था भए बमोजिम समय बित्तै जाँदा यो विषय चुनौतीरहित रहेन । यसमा देखिएका केही चुनौतीहरू यस प्रकार छन्-
१- संवैधानिक प्रतिबद्धता अनुरूप शासकीय व्यवहारहरू पुरानै हुनु, समयानुकूल परिवर्तन हुन नसक्नु ।
२- समानुपातिक प्रतिनिधित्व र आरक्षणबाट लक्षित वर्गले लाभ लिन नसेकेको आरोप लागेको छ । सम्भ्रान्त वर्ग, समुदाय भित्रका अब्बल, टाठाबाठाहरुले यसको लाभ लिएको आरोप छ।
३- समावेशीकरणका मापदण्डमाथि प्रश्नहरू उठेका छन् ।
४- योग्यता प्रणालीको प्रश्न जीवन्त रूपमा उठेको छ ।

माथि उल्लेख गरेका चुनौतीहरू प्रतिनिधि चुनौतीहरू हुन् । यस्ता धेरै चुनौतीहरू छन् । यी चुनौतीहरूलाई अव निरन्तरता दिनु हुँदैन । संविधानको आदर्शलाई व्यवहारमा रूपान्तरण गर्न देहाय बमोजिम उपायहरू अवलम्बन गर्नुपर्दछ :
१- समानुपातिक निर्वाचन प्रणालीको व्यवस्थापनको लागि थप मापदण्ड आवश्यक छ । एक व्यक्तिले एक पटक भन्दा बढी समानुपातिक प्रतिनिधित्वको अवसर पाउनु हुँदैन।
२- सार्वजनिक प्रशासनमा आरक्षणको हालसम्मको प्रभावको वस्तुगत मूल्याङ्कन गर्नुपर्छ र निर्धारित प्रतिशतमा पुनरावलोकन गर्नु आवश्यक छ ।
३- आरक्षणका लागि निर्धारित मापदण्ड पुनरावलोकनको आवश्यक छ । एउटा व्यक्तिले एक पटक भन्दा बढी यो अवसर पाउनु हुँदैन ।
४- यसलाई शैक्षिक संस्थाहरूमा पनि आबद्ध गरिनुपर्दछ । निजी विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूलाई खुल्ला प्रतिस्पर्धामा मात्र समावेश गर्नुपर्दछ ।
५- राज्यको विशिष्ट, निश्चित ‌ओहोदामा परेका परिवारका सदस्यहरूलाई खुल्ला प्रतियोगितामा सीमित गर्नुपर्छ ।
६- विशिष्ट ज्ञान, सिप र दक्षता चाहिने विषयमा शिक्षामा आरक्षण कायम गर्नुपर्छ नकि अवसरमा ।

निष्कर्ष : उल्लेखित सुझावहरू समावेशीकरणका लागि गरिएका संवैधानिक व्यवस्थाको कार्यान्वयनतर्फ गरिएका सुझावहरू हुन् । शासनमा सबैले उपस्थिति, पहुँच, सहभागिता, प्रतिनिधित्व, सम्मान, अस्तित्व, पहिचान तथा स्वामित्व खोज्दछन् । समावेशीकरणले यिनलाई मूर्तता दिन्छ । लोकतान्त्रिक शासन पद्धतिमा सबैको साझा शासन कायम गर्ने समावेशीकरण एउटा उपयुक्त विकल्प हो । यसको अभ्यास सही ढङ्गले गर्न सक्ने हो भने मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने पक्षमा दुई मत नहोला ।

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 84
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 334
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 275
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 305
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 426
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA