Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

कोत पर्व

  • Ajnabee Khadka
  • October 04, 2023
  • 608

कोत पर्व

कोत पर्व

कोत पर्व नेपालको इतिहासमा दोश्रो ठूलो हत्याकाण्ड हो। रानीको बिश्वासपात्र गगनसिंहको हत्यारा पत्ता लगाउन भेला भएका भारदारहरू बीच विवाद हुँदा मच्चिएको यो काण्डले तत्कालिन नेपालको अस्थिर राजनीतिलाई १०४ वर्षे राणा शासनतिर सुम्पेको थियो।

गगनसिंहको हत्यारा पत्ता लगाउने सिलसिलामा सर्वप्रथम अभिमान सिंह राना मगर मारिएपछि स्थिति चर्किदै हात हालाहाल तथा गोली हानाहान हुँदा अभिमानका साथसाथै त्यतिखेर नेपालका प्रधानमन्त्री फत्तेजङ्ग शाह, दलभञ्जन पाँडे, वीरकेशर पाँडे लगायतका ३१ जनाको हत्या भएको कोतको परिसरमा रगतको खोला बग्यो। यश घटनामा ११ चौतारिया, ६ पांडे ,३ थापा र ११ अन्य क्षेत्रीय भारादारकोहत्या भएक्क थियो।

यस्तो विभत्स र दु:खलाग्दो स्थितिको नतिजा जङ्गबहादुर प्रधानमन्त्री बने र १०४ वर्षको राणा शासनको उदय भयो। यस पर्वमा चौतरिया, पाँडे खलक, थापा खलक, बिष्ट, भण्डारी, आदि कुलका भारदारहरू एक चिहान बने (बस्न्यात खलक, भने जुठो परेकाले कोतमा उपस्थित हुन पाएनन् र बचे) भने जङ्गबहादुर र उनका भाइहरू शक्तिशाली भएर उदाए। यस पर्व सँगै जङ्गबहादुर प्रधानमन्त्री / मुख्तियार भए राणा शासनको उदय भयो। यही काण्डले जङ्गबहादुरको उदय भएको थियो।

पृष्ठभूमि

भीमसेन थापाको पतन

मुख्य लेख: भीमसेन थापा

विसं १८९४ मा राजा राजेन्द्र बिक्रम शाहले भीमसेन थापालाई अपदस्थ गरेपछि नेपालमा अन्योलको वातावरण सिर्जना भएको थियो। राजेन्द्र महत्त्वाकांक्षी त थिए तर उनको कमजोरी यो थियो कि उनले आफ्नी दुई रानीका कार्यकलापलाई समेत नियन्त्रण गर्न सकेका थिएनन्। उनका दुवै रानी त्यत्तिकै महत्त्वाकांक्षी थिए र दुवैले आ–आफ्नै स्वार्थ सिद्धिका लागि भारदारहरूका दुई प्रमुख समूहलाई आफूतर्फ मिलाएका थिए। जेठी रानी साम्राज्यलक्ष्मीले पाण्डेहरूको सहयोग प्राप्त गरेकी थिइन् भने कान्छी रानी राज्य लक्ष्मीदेवीलाई थापाहरूको समर्थन थियो। भीमसेन थापाको पतनको लगत्तै साम्राज्यलक्ष्मीको जोडले रणजंग पाण्डे मुख्तियार त भए तर उनी कहिले गुरु रंगनाथ त कहिले चौतरिया पुष्कर शाहको नेतृत्वमा रही काम गर्न बाध्य भए। केही वर्षपछि रणजंग शक्तिशाली मुख्तियार त बने तर उनको अंग्रेज सरकारप्रतिको नीतिले गर्दा राजेन्द्रले उनलाई पदबाट हटाए, अंग्रेज सरकारकै दबाबमा।

माथवरसिंह थापा

मुख्य लेख: माथवरसिंह थापा

विसं १८९८ मा साम्राज्यलक्ष्मीको मृत्युपछि नेपालको राजनीतिमा कान्छी रानी लक्ष्मीदेवीले हस्तक्षेप गर्न थालिन्। उनले भारतमा बस्दै आएका भीमसेन थापाका भतिजा माथवरसिं थापालाई नेपाल फिर्ता बोलाइन् र उनकै दबाबमा राजेन्द्रले माथवरलाई मुख्तियार बनाए। लक्ष्मीदेवीको स्वार्थ थियो युवराज सुरेन्द्र (साम्राज्यलक्ष्मीका छोरा) को अधिकार खोसी आफ्नै छोरा रणेन्द्रलाई राजा घोषित गर्नु। तर माथवर रानीको इच्छाअनुसार काम गर्न तयार थिएनन्, किनकि यसबाट ठूलो विद्रोह हुने सम्भावना थियो। विकल्पको रूपमा माथवरले राजेन्द्रलाई गद्दी त्यागको सल्लाह दिए, किनकि सुरेन्द्रलाई विधिवत् रूपमा राजा घोषित गरेपछि लक्ष्मीदेवीले आफ्नो छोरालाई राजा बनाउने हठ त्याग्नेछिन् भन्ने उनको धारणा थियो। तर महत्त्वाकांक्षी राजेन्द्र राज्य त्याग गर्ने पक्षमा थिएनन्। यसप्रकार माथवरले राजा र रानी दुवैलाई चिढाए। फलस्वरूप राजा र रानी दुवै मिली माथवरको हत्या गराए जसमा प्रमुख भूमिका लक्ष्मीदेवीका प्रिय पात्रहरू गगनसिंह र जङ्गबहादुरले खेलेका थिए।

माथवरको अन्तपछि चार महिनासम्म देशको शासन व्यवस्था मुख्तियारबिना नै चल्यो। लक्ष्मीदेवी गगनसिंहलाई मुख्तियार बनाउन चाहन्थिन् जबकि राजेन्द्र त्यसो गर्न तयार थिएनन्। अन्ततोगत्वा चौतरिया फत्यजंगलाई मुख्तियारको पद त दिइयो तर राज्यपरिषद् (मन्त्रिमण्डल सरह) मा गगनसिंह र जङ्गबहादुरलाई पनि समावेश गरियो। रानीको प्रिय पात्र भएको नाताले गगनसिंह निकै शक्तिशाली थिए र उनको अधीनमा सात पल्टन फौज थियो जबकि फत्यजंगको नियन्त्रण केबल तीन पल्टन फौज मात्रै थियो। भनिन्छ, सबै महत्त्वपूर्ण निर्णयहरू लक्ष्मीदेवी र गगनसिंह गर्थे र राजा र मुख्तियार त्यसलाई औपचारिकता मात्रै दिन्थे। गगनसिंहको उदय राजा, मुख्तियार, जङ्गबहादुर र अन्य भारदारका लागि एउटा चुनौती बनेको थियो।

स्थान

सिसमहलः

यो भवन कुन बेला बन्यो भन्ने एकिन गर्न नसकेता पनि राजकुमार बहादुर शाह भतिजा नावालक राजा रणबहादुर शाहको नायव भई राज्य सञ्चालन गर्न थालेपछि बनेको बुझिन्छ। किन भने उनले फ्रान्सेली कालिगढ झिकाई नेपालमा तोप, हतियार र कोत घर बनाउने काम गरेका थिए। नेपाल एकीकरणको थालनी पश्चात मात्रै र बडामहाराजा पृथ्वीनारायण शाहले काठमाडौँ जितेपछि काठमाडौँ हनुमानढोका दरबारमा प्रसस्तै हतियार राख्ने थालनी भएको बुझिन्छ। त्यही क्रममा हतियारलाई व्यवस्थित तरिकाले राख्नको लागि बहादुर शाहले फ्रान्सेली कालीगढहरूको सहयोगमा फ्रान्सबाटै सिसाहरू झिकाई, सिसाको झ्यालहरू राखेर घर बनाईएको थियो। जसलाई सिसामहल नामाकरण गरियो। कोतको पटाङगीनीमा जम्मा हुने पल्टन तथा भाइ-भारदारहरूलाई राजारानीले दर्शन दिन, आदेश दिन, निरीक्षण गर्न र भारदारी सभा गर्ने काम पर्दा राजपरिवार बस्नको लागि हनुमानढोका दरबार भन्दा बाहिर पट्टि उत्तर पश्चिममा यो भवन बनाईएको थियो। माथिल्लो तल्लामा राज परिवार बस्दथे भने भुईँ तल्लामा भाइ-भारदार बस्दथे। यो भवन दक्षिणबाट उत्तरतर्फ फर्केको थियो। बेलाबेलाको भुकम्पले क्षति पर्याएर यो भवन ध्वस्त भएको र पछि यसलाई पुननिर्माण नगरिएको   बुझिन्छ। 

(ख) जंगी पहरा

नेवारी भाषामा यसलाई मजादेगः अर्थात भत्केको मन्दिर भनिन्छ। मल्लकाल तिर सबै जनताले त्यस स्थानमा देवताको मन्दिर निर्माण गर्न लाग्दा गाह्रो नअडीने र भत्केको भत्क्यै गर्ने दैवी चमत्कारी श्रृजना भएकोले मन्दिर नबनाई छाडिएको थियो। पछि शाह कालमा त्यस अग्लो स्थानमा देवलको रूपमा घण्टा घर बनाईएको बुझिन्छ। यो कोतघरहरू भन्दा पछाडी उत्तरतर्फ बनेको छ। छाना नभएको खुल्ला रूपले एकदमै अग्लो पारेर बनाईएको छ। यसको माथिल्लो तल्लामा पशुपतिनाथको लिंंग स्थापना गरिएको छ। यहांबाट सैनिकहरूले कोत र आसपासको इलाकामा निग्रानी गर्थे। विहान र बेलुकी (रिट्रि र रिभ्याली) यसबाट विगुल बजाइन्थ्यो। कुनै जरुरी स्थितीमा राजदरबारको आदेशमा भाइ-भारदार बोलाउनु पर्दा एकपटक विगुल बजाइन्थ्यो भने आकस्मिक अवस्थामा पर्दा दुई पटक बजाइन्थ्यो, अनि भाइ-भारदार कोतको पटाङगिनीमा जम्मा हुन्थे। कोतपर्व हुने रातमा यहीबाट विगुल बजाईएको थियो। राणाहरूले कर्फ्यु लगाउंदा पनि यहीबाट विगुल बज्दथ्यो। काठमाडौँको बस्ती बढेर विगुलको आवाज सुनिन गाह्रो हुन थाले पछि धरहराबाट पनि विगुल बजाउन थालियो। यसर्थ यस घरको एतिहासिक महत्त्व रहेको छ।

घटनाक्रम

गगनसिंहको हत्या

गगनसिंहको चुर्तिफुर्ति धेरै समयसम्म चल्न सकेन। वि.सं. १९०३ भदौ ३१ को राति आफ्नै घरमा पूजा गरिरहेका बेला उनको हत्या भयो। गगनसिंहको हत्या कसले गर्यो भन्नेबारे लेखकहरूका भिन्नाभिन्नै धारणा छन्। कसैले राजा र मुख्तियारको मिलेमतोमा लाल झा नामका कुख्यात व्यक्तिले उनको हत्या गरेको भनेका छन् भने कसैले चाहिं जङ्गबहादुरले आफू शक्तिशाली बन्न आफ्ना भाइ बद्रीनरसिंहद्वारा उक्त हत्या गराएको भनी लेखेका छन्। गगनसिंहको हत्याको रहस्य सायद कहिल्यै पनि अगाडि आउँदैन। तर एउटा कुरा के भन्न सकिन्छ भने गगनसिंहको उदय राजा, मुख्तियारलगायत कसैलाई मन परेको थिएन र उनको पतन लक्ष्मीदेवीबाहेक सबैले चाहेका थिए।

वि.सं. १९०३ भदौ ३१ गते राति महारानी राज्यलक्ष्मीको प्रिय पात्र तथा मन्त्रिपरिषद्का सदस्य गगन सिंह भण्डारीको रहस्यमय ढङ्गले गरिएको हत्यारा पत्ता लगाउन महारानीको आदेशले राति सबै भारदारहरूलाई कोतको परिसरमा जम्मा हुने आदेश अनुसार कोतमा भेला भए।

हत्यारा पत्ता लगाउन भारदारी

जनरल गगनसिंहको हत्यामा ठूलो षड्यन्त्र छ भन्ने शङ्का गरी महारानीले तत्कालै धरहराबाट सामेलीको बिगुल फुक्न लगाइन्। कोतमा सबैजसो भाइभारादार जम्मा भए भन्ने लागेपछी महारानी कौसीबाट गगनसिंहको हत्यारा पत्तो लगाई तत्कालै मार्ने र हत्याको बदला लिने पक्षमा थिइन्। उनले जङ्गबहादुरलाई भेट्दा जङ्गबहादुरले तीन पल्टन सिपाहीसाथ महारानीको सुरक्षा गर्ने निहुँमा कोतमा पसेका थिए। त्यो बचनले महारानीलाई चित्त बुझेको थियो।

भारदारहरूले अपराधी पत्ता लगाउन नसक्दा महारानीले वीरकिशोर पाँडेलाई ( वीर केशर पाण्डे) पुरानो कुराले शङ्का गरी निजलाई पक्रि मार्ने आदेश जनरल अभिमानसिंह रानालाई दिइन्। उता अभिमानसिंहले त्यसरी व्यक्तिले नमान्दानमान्दै हत्या गर्न श्री ५ महाराजको पनि हुकुम हुनुपर्छ भन्ने जबाफ दिए।

राजा कोतबाट बाहिर

त्यतिबेला कोतभित्र तनाबको वातावरण पैदा भएकै अवस्थामा राजा कोतबाट बाहिर निस्केका थिए।

काटमार

अभिमानसिंहको हत्या

आफ्नै भाइहरू र विश्वासिला फौज भएकोले कोतमा जंग भाइहरू र विश्वासिला फौज भएकोले कोतमा जङ्गबहादुर निश्चिन्त टाइंफुइं गर्दै रहे। त्यसमा पनि जङ्गबहादुरको पल्टनबाहेक अरु कसैले एकजना अंगरक्षकसमेत कोतभित्र लान पाएका थिएनन्। उनले आफ्ना भाइहरूलाई कोतभित्र छिर्न दिनु तर कसैलाई पनि कोतबाहिर निस्कन नदिनु ” भन्ने आदेश दिएका थिए।

आफूले महारानीको आज्ञा पालना नगरेको र कोतको अवस्था भयानक हुँदै गएकाले अभिमानसिंह राना कोतको ढोका बाहिर जान र आफ्नो पल्टनसँग भेट गर्ने उद्देश्यले निस्कन लागे। तर महारानीले कसैलाई पनि बाहिर नपठाउने आदेश दिएको थाहा नपाएका अभिमानसिंहले पहरालाई धक्का दिई चुकुल खोल्न लाग्दा सिपाही युद्धवीर अधिकारीले अभिमानसिंहलाई सङ्गीनले धोची घाइते बनाइदिए। आफू मर्ने बेलामा “गगनसिंहलाई मार्ने जङ्गे हो” भनी कराएर आफ्नै रगतले भित्तामा पञ्जाछाप लगाई अभिमानसिंह छटपटाउदै मरे।

अभिमानसिंहको मर्ने वेलाको वाक्यालाई सही हो भन्ने अडकल गरेपछि चौतरिया फत्तेजंग शाह (तत्कालीन प्रधानमन्त्री) को छोरा खड्गबिक्रम शाहले जङ्गबहादुरको बेइमानीलाई सजाय दिनै पर्छ भनी कराए।

खड्गबिक्रम शाहको हत्या

तत्कालै जङ्गबहादुरको भाइ कप्तान कृष्णबहादुर कुंवरले ” झुटा चौतरिया मुख समाल, हैन भने अभिमानसिंहकै गतिमा पुर्याइदिउंला ” भनेर आजसम्म राजखलकलाई नभनेको तुच्छ बचन गरे।

उक्त समयमा कोतमा न त राजा श्री ५ राजेन्द्र नै थिए न त रानी राज्यलक्ष्मी नै थिइन्। सो अवसरमा जङ्गबहादुरको नै शस्त्रअस्त्रसहितको भाइहरूको राज बन्यो। कृष्णबहादुरको तुच्छ बचन सुनेपछि चौतरिया खड्गबिक्रम शाहले हातमा भएको तरबार लिएर कृष्णबहादुर माथि जाइलागे। सो मारलाई कृष्णबहादुर का अर्का भाइ बमबहादुरले तरबार झिकी चौतरिया खड्गबिक्रम लाई काट्न लागेको देखि झटपट खड्गबिक्रमले आफ्नो तरबारले बमबहादुरलाई मार हान्दा कातेको दलान होचो भएकोले तरबार दलिनमा ठोकियो  बमबहादुरलाई खासै असर पुगेन। फेरी खड्गबिक्रम ले बमबहादुरमाथि अर्को मार थप्न लागेको देखि जङ्गबहादुरको अर्का भाइ कप्तान धीरशमशेरले आफ्नो तरबार तुरुन्तै निकाली खड्गबिक्रमको कम्मरमा प्रहार गरी उनको शरीरलाई दुई टुक्रा पारेर छुट्ट्याए।

प्रधानमन्त्री चौतरिया फत्तेजंग शाहको हत्या

खड्गबिक्रमको मृत्यु भएपछि जगतशमशेरले जङ्गबहादुर बसेको स्थानमा गई सो भिडन्तबारे सुनाए। डराएर जङ्गबहादुरले प्रधानमन्त्री चौतरिया फत्तेजंग शाहलाई उनको छोराको मृत्यु भएको खबर भने। आफ्नो १८ वर्षीय एक मात्र छोराको जङ्गबहादुरको खलकले मारेपछि फत्तेजंग रिसाउंदै रानी भएको सिसमहलतर्फ बढे। त्यतिकैमा जङ्गबहादुरले आफ्नो पल्टनको हवलदार राममेहर अधिकारीलाई आँखा सन्काई प्रधानमन्त्री चौतरिया फत्तेजंग शाहलाई गोली ठोक्ने सङ्केत दिए। तुरुन्तै राममेहरले सिपाही रामबहादुर रानामगरलाई गोली हान्ने आदेश दिएपछि सिपाही रामबहादुरले गोली हानी प्रधानमन्त्रीको प्राण उडाए।

अन्य

त्यस पश्चात् कोतभित्र शुरुमा जंग खलक र चौतरिया (राजखलक) बीच घमासान मारकाट चल्यो। चौतरिया खलकले जङ्गबहादुरको बेइमानीलाई कुनै पनि हालतमा नछाड्न र राजपूत भएको नाताले पनि लडेरै ठीक पार्न कम्मर कसे। यस वेलासम्म ७-८ जना चोतरिया काटिसकिएका थिए। चौतरियाहरूसँग तरबार थियो तर अन्य भारदारहरू बिल्कुलै निःशस्त्र थिए। यसरी विस्तारै जंगखलक तथा चौतरिया, बस्न्यात, थापा र पांडे परिवारबीच मारामार पर्यो। अरुको हतियार नभएकोले मुड्कीले हान्ने र पछार्ने काम मात्र भयो। तर जंगपरिवार र पल्टनसंग हतियार भएकोले अरुलाई मुला काटेझैं काटे। करीब ३२ जनाकोे लासको थुप्रो लगएपछि कोतपर्व सकियो। नेपालका गन्यमान्य भाइ-भारदार बांकी रहेनन्। 

“कोतमा त्यति धेरै मानिस किन मारियो” भनी श्री ५ राजेन्द्रले जङ्गबहादुरलाई भोलिपल्ट सोद्धा खडगबिक्रमले पहिला हतियार चलाएको हुनाले र श्री ५ बडामहारानीको हुकुम आफूले पालना गर्दा त्यस्तरी मानिस मारिएको जवाफ दिएका थिए।

दोष

उक्त घटनाको ६ महिनापछि अर्थात् विसं १९०३ चैतमा नेपालस्थित ब्रिटिस रेजिडेन्ट थोरस्वेले घटनाको विस्तृत विवरण अंग्रेज सरकार छेउ पठाएका थिए ; जसमा हत्याकाण्डको सम्पूर्ण दोष महारानी लक्ष्मीदेवीमाथि लगाइएका छन्। गगनसिंहको हत्यारा पत्ता लगाउने रानीको हठकै कारण उक्त हत्याकाण्ड भएको भन्ने रेजिडेन्टको ठहर छ। साथै कुनै निर्णय दिन नसक्ने भनी राजा राजेन्द्रको पनि आलोचना गरिएको छ। किनकि कोतभित्र तनावको वातावरण पैदा भएकै अवस्थामा राजा कोतबाट बाहिर निस्केका थिए। थोरस्वेको यो भनाइ, यो पत्र स्वयं जङ्गबहादुरले दिएको विवरणअनुसार तयार गरिएको थियो।

घटनाको अर्को विवरण स्वयं लक्ष्मीदेवीले आफ्ना पति राजेन्द्रलाई लेखेको पत्रमा दिएकी छन् जसमा हत्याकाण्डको सम्पूर्ण दोष जङ्गबहादुर र उनका सहयोगी विजयराज पण्डितमाथि लगाइएको छ। पत्रकै शब्दहरूमा

जनरल गगनसिंलाई छानाबाट गोलि चलाइ मान्या को हो कया विराउँले मारियो मार्न सल्लाहमा पस्न्यालाई र मार्न्यालाई ठहराइ पक्रनुपर्छ भनि मैले र हजुरबाट हुकुम वकिस मान्या मानिसको षोजि हुन लाग्याको थियो तेसै वषत्मा हामिहरू सबै बसि कौसल गरी त्यो मार्न्या मानिसलाई ठहराउँछौं हजुरहरू सुकुला गर्न पाव लाग्नु हवस् भनि विजयराज पंडितले र जङ्गबहादुरले धोषाको विंति पार्दा म कोठरिभित्र गञा हजुर दर्वार तरफ पाव लाग्नु भयो तेसै विचमा जङ्गबहादुरले आफ तैनाथि पल्टनका पगरि हुद्दा सिपाहिहरूबाट घेरा दि हुल गरी भारदारहरूलाई मार्याको र तिनैका जाहान बच्चा र अरूलाई पनि धपायाको व्यहोरा सबै हजुरमा जाहिरै छ अरू मानिस पनि सबै जान्दैछन्…।

लक्ष्मीदेवीको यस विवरणमाथि शंका गर्ने ठाउँ त अवश्य पनि छ। तर कोतभित्र भएको हत्याकाण्डमा जङ्गबहादुर र उनका सहयोगीबाहेक अरू सबैजसो भारदारहरू मारिएका थिए।

परिणाम

कोतपर्वपछि जङ्गबहादुर मुख्तियार बने र उनलाई कम्यान्डर इन चिफको / प्रधान सेनापति पदवी पनि दिइयो। वि.सं. १९०३ असोज २ गते राजा राजेन्द्रबाट लालमोहर पाएपछि जङ्गबहादुर कुँवर नेपालका विधिवत् मुख्तियार भएका थिए।

थुप्रै भारदारको हत्या

कोतपर्वमा मारिनेहरूको संख्या इतिहासकारहरू पिच्छे फरक-फरक देखिन्छ। मर्नेहरूमध्ये विनोद पन्देय

चौतरिया

प्रधानमन्त्री चौतरिया फत्यजङ्ग शाह, उनको छोरा चौतरिया खड्गविक्रम शाह, चौतरिया वीरबहादुर शाह, चौतरिया काजी दलबहादुर शाह, चौतरिया काजी गोप्रसाद शाह,

काजी

जनरल अभिमानसिंह रानामगर, काजी दलभञ्जन पाण्डे , काजी रणगम्भीर पाण्डे , काजी रणजोर थापा, काजी नरसिंह थापा, काजी बखतवीर भण्डारी , काजी वीरकेशर पांडे, कपरदार कीर्तिध्वज पांडे, सरदार भवानीसिंह खत्री, सरदार समरबहादुर शाह, सरदार गणप्रकाश शाह, सरदार रससिंह, सरदार शत्रुभञ्जन शाही, सरदार युद्धरञ्जन शाही, काजी अर्जुन थापा, कप्तान मोहनवीर शाही, कप्तान वीरबहादुर शाही, बद्रीवान शाहीको छोरा (नाम थाहा नभएको), कुम्वेदान गैंडा मल्ल, ददा दण्डकेशर, द्वारे जोगराज, जमदार विष्णुभक्त, हवलदार कालु खवास, अर्दली इन्द्रवीर राउत आदि थिए।

ती बाहेक जनरल गगनसिंह खवास आफ्नै घर ढोकाटोलमा मारिएका थिए।

मुडिने र जाति च्युत गर्ने काम भयो

उक्त पर्वमा नपरेका र नमरेका तर सन्तान, नातेदार तथा नैतिक समर्थन दिई जङ्गखलकको बिरोध गर्नेहरूमध्ये खडानन्द उपाध्याय, कुईकेल ब्राह्मण,रंगनाथ खनाल आदिको जात च्युत गरी मुडेर लखेटिए। विशेष गरी ब्राह्मणहरूलाई नमार्ने धर्म भएकोले जात च्युत गरिएको थियो।

Categories

  • Current Affairs 661
  • Gorkhapatra 312
  • Others 1052
  • Vacancy 1
  • Past Questions 79
  • Nepal Police 4

Latest Blogs

Chaubisi Rajya
Others

चौबिसी राज्यहरू

  • Jun 07, 2026
  • 131
Nepal Electricity Authority (NEA) Open Competitive Written Examination for the post of Level 5 (Meter Reading Supervisor/Accountant) (2083/02/23)
Past Questions

नेपाल विद्युत प्राधिकरण (NEA) को पाँचौ तह (मिटरिडिङ सुपरभाइजर/लेखापाल) पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३/०२/२३)

  • Jun 07, 2026
  • 79
Key facts and figures in the tourism sector (2082/83)
Current Affairs

पर्यटन क्षेत्रका प्रमुख तथ्य र तथ्याङ्कहरू (२०८२/८३)

  • Jun 07, 2026
  • 85
World Environment Day 2026
Current Affairs

विश्व वातावरण दिवस, २०२६

  • Jun 05, 2026
  • 160
Janakpur Bolts (Janakpur Bolts) becomes Nepal's first multinational cricket franchise
Current Affairs

जनकपुर बोल्ट्स (Janakpur Bolts) बहुराष्ट्रिय हुने नेपालको पहिलो क्रिकेट फ्रेन्चाइज

  • Jun 04, 2026
  • 127
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA