शाह वंशको परिचय
शाह वंशको प्राचीन इतिहासबारे विभिन्न वंशावलीहरूले फरक–फरक तरिकाले वर्णन गरेका छन्। तर उपलब्ध तथ्यहरूको आधारमा हेर्दा, गोरखा राजवंशको सम्बन्ध भारतको चितौडका सिसौदिया राजपूतहरूसँग जोडिएको पाइन्छ । मुस्लिम आक्रमणपछि चितौड पतन भएको थियो, जसका कारण त्यहाँका शासकहरू विभिन्न स्थानतर्फ भागेका थिए। त्यसै क्रममा यही राजवंशका भूपाल नामका शासक नेपालको रिडी हुँदै भिरकोटमा आएर बसोबास गरेका थिए । भूपालका दुई छोरा हरिहर सिंह र अजयसिंहले पहिलो पटक नेपालका पहाडी क्षेत्रमा आएर आफ्ना–आफ्नै स्वतन्त्र राज्यहरूको स्थापना गरेका थिए । यी दुवै जनाले तत्कालीन भारतका शासकहरूसँग नजिक सम्बन्ध राखी मानपदवी प्राप्त गरेका कारण इतिहासमा खाँचा खान र मिचा खान नामले पनि चिनिन्छन् । अजयसिंहको वंशमा विचित्र खान, कुलमण्डन आदि उत्तराधिकारी भए। कुलमण्डनले दिल्लीका बादशाहबाट शाह पदवी प्राप्त गरेको वंशावलीमा उल्लेख पाइन्छ । यही कालदेखि यो राजवंशले आफ्नो नामसँग “शाह” उपनाम प्रयोग गर्न थालेको मानिन्छ । कुलमण्डन शाहको पालामा लमजुङको राजगद्दी खाली भएको हुँदा, लमजुङको अनुरोधमा उनका कान्छा छोरा यशोब्रह्म शाहलाई लमजुङको राजा बनाइयो। यशोब्रह्म शाहका दुई भाइ थिए—ठूलो नरहरि शाह र कान्छो द्रव्य शाह । द्रव्य शाहले वि.सं. १६१६ (इ.स. १५५९) मा गोरखामा शासन गर्ने खड्काहरूमाथि विजय प्राप्त गरी आफ्नै राजवंशीय राज्य स्थापना गरे। यिनै द्रव्य शाहबाट गोरखा राज्य शाह वंशीय राज्यका रूपमा विकास भएको हो । यद्यपि गोरखा राज्य चौबिसे राज्यहरूमध्ये एक थियो, यसको विशेष अस्तित्व र महत्त्व रहेको थियो ।