Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

धरातलीय स्वरूपका आधारमा नेपालको विभाजन

  • Bikash Shrestha
  • August 28, 2025
  • 1211

धरातलीय स्वरूपका आधारमा नेपालको विभाजन

Division of Nepal based on topography

 

 क) हिमाली प्रदेश

नेपालको उत्तरी भागमा पर्ने हिमाली प्रदेशमा उच्च पर्वत, तीव्र ढाल, अग्ला चुचुराहरू, गहिरा उपत्यका र खोँच भएका ठाडा भिरयुक्त भू–स्वरूप पाइन्छ। यो भूभाग नाइस, सेले, स्लेट, ग्रेनाइट, क्वार्ट्जाइट, चुना आदि चट्टानबाट बनेको छ।
नेपालको करिब १५ प्रतिशत भूभाग यस क्षेत्रमा पर्दछ। हिमाली क्षेत्रको उत्तर–दक्षिण चौडाइ २५ देखि ५० किलोमिटर हुन्छ भने यसको उचाइ समुद्र सतहबाट करिब ३,००० मिटरभन्दा माथि पर्छ।

हिमालय नेपालको उत्तर सीमाभन्दा दक्षिणतर्फसम्म देखिन्छ। उदाहरणका लागि, अन्नपूर्ण र गंगापूर्ण हिमालको उत्तरपट्टि मनाङ र मुस्ताङ पर्दछन् भने धवलागिरिको उत्तरपट्टि मुस्ताङ र डोल्पा पर्दछन्। यी ठाउँहरूबाट पनि हिमाली शृङ्खलाहरू स्पष्ट देखिन्छन्।

नेपालमा विश्वप्रसिद्ध २८ वटा हिमशृङ्खलाहरू छन्, जसमा कञ्चनजङ्घा, जनक, महालङ्गुर, लाङटाङ, गणेश, अन्नपूर्ण, धवलागिरि, नीलगिरि, मनसिरी, चाङ्गला, गुराँस आदि पर्दछन्। यी हिमशृङ्खलाहरू तिब्बत (भोट) सीमासम्म फैलिएका छन्।

विश्वको सर्वोच्च शिखर — सगरमाथा

नेपालकै हिमाली क्षेत्रमा विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित छ। वि.सं. १९९० (सन् १९३३) मा यसलाई ‘तृतीय ध्रुव’ (Third Pole) भनेर सम्बोधन गरिएको थियो।

जलवायु

यो क्षेत्र अल्पाइन र आर्कटिक जलवायु क्षेत्रमा पर्छ। उचाइअनुसार जलवायु फरक–फरक हुन्छ। उदाहरणका लागि,

  • सोलुखुम्बुको ४,४०० मिटर उचाइमा आलु खेती हुन्छ।

  • मुस्ताङको जोमसोम (२,८०० मिटर) मा वार्षिक मात्र २०० मिलिमिटर वर्षा हुन्छ।

४,००० मिटर माथिका भागहरूमा वर्षायाममा समेत हिमपात हुन्छ। ५,००० मिटरभन्दा माथि ६ देखि १२ महिना सम्म हिउँ रहन्छ।

प्राकृतिक वनस्पति र चरनभूमि

  • ४,०००–५,००० मिटरमा होचो झाङ्ग–झाडी र जडीबुटी पाइन्छ।

  • मुस्ताङ र डोल्पामा विशेष कारणले २,८०० मिटरमा समेत प्राकृतिक वनस्पति हुन्छ।

  • करिब १२ प्रतिशत उच्च हिमाली भूभाग ग्रीष्मकालीन चरनका लागि उपयुक्त छ।

तर धेरै भूभाग ठाडो ढुङ्गा, चिसो र बंजर भएका कारण चरनका लागि उपयुक्त हुँदैन। यसैले चरन व्यवस्थापन यहाँको मुख्य आवश्यकता हो।

कृषि र आर्थिक गतिविधि

हिमाली क्षेत्रमा माटो पातलो र कठोर भएकाले करिब १ प्रतिशतभन्दा कम जमिन मात्र खेतीयोग्य छ। उत्पादन न्यून भएकाले कृषि नगण्य छ। तर यहाँ:

  • याक, भेडा, च्याङ्ग्रा, घोडा आदिको पालन,

  • जडीबुटी संकलन,

  • ऊनका गलैंचा, राडी, पाखी बुन्ने घरेलु उद्योग,

  • पर्यटन र वातावरणीय सम्पदा प्रमुख आयस्रोत हुन्।

जनसंख्या र जिल्ला

वि.सं. २०७८ को जनगणना अनुसार नेपालको कुल जनसंख्याको ६.०८ प्रतिशत हिमाली क्षेत्रमा बसोबास गर्छन्।

हिमाली क्षेत्रमा पर्ने प्रमुख २१ जिल्ला:

  • पूर्व : ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा

  • मध्य : मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, गोरखा, धादिङ, रामेछाप

  • पश्चिम : बाजुरा, बझाङ, दार्चुला, म्याग्दी, रुकुम (पूर्व)

    मुख्य हिमाली क्षेत्र

    मुख्य हिमालयमा विश्वका सबैभन्दा अग्ला हिमशिखरहरू अवस्थित छन् । यहाँ ८,००० मिटरभन्दा माथिका हिमचुलीहरू पर्छन् । तटवर्ती हिमालयको दक्षिणतर्फ र ठूलो हिमशृङ्खलामा ६,००० मिटरभन्दा माथिका करिब १,३११ वटा चुचुराहरू छन् ।

    यस क्षेत्रमा विश्वकै सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) र तेस्रो उच्च शिखर कञ्चनजङ्घा (८,५८६ मिटर) सहित ल्होत्से, मकालु, चो–ओयु, धवलागिरि, मनास्लु, अन्नपूर्ण जस्ता अन्य उच्च हिमशिखरहरू पनि छन् । विश्वका करिब दुई दर्जन ८,००० मिटरभन्दा माथिका हिमचुलीमध्ये नेपालमै डेढ दर्जनजति पर्छन् ।

    कञ्चनजङ्घा, खुम्बु, महालङ्गुर, रोल्वालिङ, गणेश, गोर्खा, अन्नपूर्ण, धवलागिरि, काञ्जिरोवा, अपि र सैपाल हिमशृङ्खलाअन्तर्गत विश्वका १० उच्च हिमशिखरमध्ये ८ वटा नेपालमै अवस्थित छन् ।


    भित्री हिमाली क्षेत्र

    मुख्य हिमालयको उत्तर र तिब्बती क्षेत्रको दक्षिणतर्फ भित्री हिमाली क्षेत्र पर्छ । यहाँ हिमनदीहरूले बनाएका उपत्यकाहरू प्रशस्तै छन् । पूराङ, हुम्ला, मुगु, लाङगु, बुढीखोटाङ, केरुङ, न्यानम, रोङ्गसार, खुम्बु, कर्मा आदि उपत्यकाहरू यिनै उदाहरण हुन् ।

    यी उपत्यकाहरू समुद्री सतहदेखि २,४०० देखि ५,००० मिटर उचाइमा पर्छन् । कतिपय ठाउँमा गहिरा खोँच र बेसीहरू पनि छन् । हुम्ला, जुम्ला, मुगु, डोल्पा, मुस्ताङ र मनाङ वृष्टिछायामा पर्ने भएकाले यहाँ वर्षा अति न्यून हुन्छ र जलवायु शुष्क हुन्छ ।

    यस क्षेत्रमा चिसो–शीतोष्ण वन पाइन्छ तर डाँले घाँस प्रायः हुँदैन । यहाँका बासिन्दाले खाद्यान्न, लुगा र अन्य सामानको ढुवानीका लागि खच्चर, घोडा र चौँरी जस्ता जनावर प्रयोग गर्छन् ।

    • खेतीपाती: ३,००० मिटर उचाइसम्म जौ, गहुँ, कोदो र आलु उत्पादन हुन्छ ।

    • जनजीवन: कठोर चिसोका कारण यहाँको जनघनत्व पातलो छ । हिउँदमा अत्यधिक चिसो हुने भएकाले मानिसहरू प्रायः बेसीतिर झर्ने वा मौसमी रूपमा बसाइँसराइ गर्ने गर्छन् ।


    सीमावर्ती हिमाली क्षेत्र

    यो क्षेत्र अन्तरहिमाली शृङ्खलासँगै तिब्बतको समानान्तर किनारमा करिब १३० किलोमिटर उत्तरतर्फ फैलिएको छ । यसको उचाइ औसत ६,०००–७,००० मिटर रहन्छ । यसलाई तिब्बती पठारको सीमावर्ती क्षेत्र पनि भनिन्छ ।

    यो क्षेत्र गङ्गा र साङ्गपो (ब्रह्मपुत्र) नदीका पानीढलो क्षेत्रका रूपमा पर्छ । उच्च हिमशृङ्खलाले छिचोलेका कारण यहाँका नदीहरू (जस्तै कालीगण्डकी, अरुण) हिमालयभन्दा पुराना मानिन्छन् ।

    मनाङ, मुस्ताङ आदिमा केही बसोबास छ र यहाँबाट तिब्बत निस्कने धेरै भञ्ज्याङ (पहाडी मार्ग) हरू छन् । जस्तै —

    • टिपताला (ताप्लेजुङ)

    • पोपटी/हरियाघाँटी (सङ्कवासभा)

    • नाङ्पा (सोलुखुम्बु)

    • सुवागढी, ग्याला (गोर्खा, मुस्ताङ)

    • लुगुवा (मनाङ)

    • नाम्जाला (मुगु)

    • यारी (हुम्ला)

    • टिंकर (दार्चुला)

    यस क्षेत्रमा वृष्टि नपर्ने भएकाले यसलाई हिमाली मरुभूमि पनि भनिन्छ । यसलाई टेथिस हिमाल पनि भन्ने गरिन्छ ।

    (ख) पहाडी प्रदेश

    नेपालको मध्यभागमा पर्ने यो प्रदेश उत्तरतर्फ हिमाल र दक्षिणतर्फ तराईबीच फैलिएको छ। यस क्षेत्रमा अग्ला–होचा पहाड, फराकिला–साँघुरा उपत्यका, दून, बेँसी, टार र गरायुक्त पाखाहरू पाइन्छन्। समुद्री सतहबाट करिब ३०० मिटरदेखि ३,००० मिटर उचाइसम्म फैलिएको यो भूभाग ७५–१२५ किलोमिटर चौडा छ। नेपालको सबैभन्दा ठूलो भूभाग यस प्रदेशमा परेकोले नेपाललाई प्रायः “पहाडी मुलुक” पनि भनिन्छ। यहाँ विशेष गरी नाइस, स्लेट, भेल र ग्रेनाइट जस्ता चट्टान पाइन्छन्।

    यस प्रदेशमा इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक, नुवाकोट, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्युठान, रोल्पा, रुकुम (पश्चिम), सल्यान, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा र बैतडी गरी २८ जिल्ला पर्दछन्। वि.सं. २०७८ को जनगणनाअनुसार नेपालको ४०.३% जनसङ्ख्या पहाडी क्षेत्रमा बसोबास गर्छ।

    पहाडी प्रदेशको विभाजन

    पहाडी प्रदेशलाई तीन मुख्य श्रेणीमा विभाजन गर्न सकिन्छः

    १. चुरे पर्वत श्रेणी

    • समुद्र सतहबाट ६१०–१,८७२ मिटर उचाइमा फैलिएको नयाँ पर्वतश्रेणीलाई चुरे पर्वत भनिन्छ।

    • यसलाई चुरिया पर्वत, बाह्य हिमालय वा शिवालिक पनि भनिन्छ।

    • पश्चिममा महाकालीदेखि पूर्वमा कोशीसम्म फैलिएको यो पर्वत अधिकांश जङ्गलले ढाकिएको छ।

    • दाङ, देउखुरी, राप्ती, चितवन जस्ता उपत्यका दून यहाँको विशेषता हुन्।

    • जलवायु उपोष्ण छ तर माटो वर्षाको पानी रोक्न नसक्ने भएकाले बाढी–पहिरोको जोखिम बढी हुन्छ।

    • खेतीयोग्य जमिन कम (करिब २४%) छ। अतिक्रमण र वनविनाशले यहाँको वातावरण संवेदनशील बनेको छ।

    २. महाभारत श्रेणी

    • समुद्र सतहबाट करिब १२,००० फिटसम्म उचाइ भएको यो भाग नेपालकै महत्वपूर्ण भाग हो।

    • यस क्षेत्रमा सेल, स्यान्डस्टोन, लाइमस्टोन, मार्बल, स्लेट जस्ता चट्टान पाइन्छ।

    • कर्णाली (चिसापानी), कालीगण्डकी (देवघाट), त्रिशूली (जुग्री) र कोशी (चतरामा) जस्ता नदीहरूले यसलाई काटेर बगेका छन्।

    • यसलाई “होचो हिमालय” पनि भनिन्छ।

    • यहाँको हावा–पानी मनमोहक भएकाले यसलाई नेपालकै “स्वास्थ्यभूमि” भनिन्छ।

    • सैलुङ, ट्याम्के, फूलचोकी, शिवपुरी, दामन, साकिने डाँडा, खोँच आदि यहाँका प्रमुख शिखर हुन्।

    ३. मध्यभूमि श्रेणी

    • महाभारत र हिमालयबीचका ठूला–ठूला टार, बेँसी र उपत्यका यस श्रेणीअन्तर्गत पर्छन्।

    • काठमाडौं, पोखरा, त्रिशूली, पाँचखाल, माडी जस्ता उपत्यका तथा चमे लियाँ, सुनकोशी, अरुण, तमोर आदिबाट बनेका उपत्यका पनि यसैमा पर्दछन्।

    • यहाँका प्रमुख टारहरूमा तुम्लिङटार (सङ्खुवासभा), रुम्जाटार (ओखलढुङ्गा), मङ्गलटार (काभ्रे), सल्यानटार (धादिङ), पालुङटार (गोरखा) आदि पर्दछन्।

    • मध्यपहाडी क्षेत्रले नेपालको २९.५% भूभाग ओगटेको छ।

    • यहाँको जलवायु वर्षभरि कृषि योग्य छ। धान, मकै, गहुँ, दलहन, फलफूल, तरकारी तथा जडीबुटी खेतीका लागि उपयुक्त छ।

    • तर, जनसङ्ख्या चाप र भूक्षयका कारण भूमि उपयोगमा समस्या देखिन्छ।

    सामाजिक तथा आर्थिक पक्ष

    • पहाडी क्षेत्रमा किराँत (राई, लिम्बू), तामाङ, मगर, गुरुङ, बाहुन, क्षेत्री, नेवार लगायतका जाति बसोबास गर्छन्।

    • घर, लवाइ–खवाइ र पेशामा भिन्नता देखिन्छ।

    • दक्षिणतर्फका पाखामा बसोबास र खेती बढी हुन्छ।

    • खाद्यान्नमा धान, मकै, गहुँ, दलहन प्रमुख भए पनि उर्वर भूमिको कमीले कहिलेकाहीँ उत्पादन कम हुन्छ।

    काठमाडौं उपत्यका

    • काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्ला यसमा पर्दछन्।

    • यो उपत्यका समुद्री सतहबाट करिब १,३३७ मिटर उचाइमा रहेको छ।

    • भौगोलिक, सामाजिक, सांस्कृतिक र प्रशासनिक दृष्टिले यो उपत्यकाको छुट्टै पहिचान छ।

    • वि.सं. २०७८ को जनगणनाअनुसार यहाँ देशको करिब १०.३% जनसङ्ख्या बसोबास गर्छ।

    (ग) तराई प्रदेश

    नेपालको पहाडी भागदेखि दक्षिणतर्फ भारतको सीमासम्म फैलिएको समथर भूभागलाई तराई प्रदेश भनिन्छ । यसलाई मधेश पनि भनिन्छ । यसको चौडाइ करिब २५ देखि ३० किलोमिटरसम्म हुन्छ । तराईको सिरानमा भावर र चुरे क्षेत्र पर्छन् । उत्तरबाट दक्षिणतर्फ भूभाग क्रमशः होचो हुँदै जाने विशेषता यस क्षेत्रको भौगोलिक लक्षण हो ।

    तराई उष्ण क्षेत्र हो, यहाँको जमिन प्रायः समथर र उर्वर हुन्छ । सन् १९६० सम्म यो क्षेत्रमा थारूहरूको बाहुल्य थियो, तर औलो उन्मूलन भएपछि दून, उपत्यका र पहाडी क्षेत्रका मानिसहरू पनि बसाइँ सरेपछि तराई बहुजातीय क्षेत्रमा परिणत भयो ।

    समुद्री सतहबाट ६० देखि ६०० मिटर उचाइमा रहेको तराईलाई नेपालको अन्नभण्डार मानिन्छ । यस क्षेत्रमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी १८ जिल्ला पर्दछन् । वि.सं. २०७८ को जनगणना अनुसार, तराईमा नेपालको कुल जनसङ्ख्याको ५३.६% बसोबास गर्दछ ।

    तराईलाई तीन भागमा विभाजन गरिएको छ:


    १. मध्य तराई

    दक्षिणतर्फ क्रमशः होचिँदै जाने भूभागलाई मध्य तराई भनिन्छ । मिहिन पांगो माटोले बनेको यो क्षेत्र अति उर्वर छ ।

    • चितवनको दक्षिणमा सोमेश्वर पर्वतमाला

    • देउखुरीको दक्षिणमा डुन्डुवा पर्वतमाला

    यी भौगोलिक सीमाले मिलेर तराईलाई पूर्वी, मध्य र पश्चिमी तराई मा बाँड्छन् ।
    मध्य तराईअन्तर्गत झापा, मोरङ, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्साको दक्षिण, परासीको पश्चिम-दक्षिण, रूपन्देही, कपिलवस्तुको दक्षिण, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका दक्षिणी भाग पर्दछन् ।


    २. भावर क्षेत्र

    मध्य तराईको उत्तर र चुरे पर्वतमालाको दक्षिणतर्फ पर्ने साँघुरो पेटीलाई भावर क्षेत्र भनिन्छ ।

    • उचाइ: समुद्री सतहदेखि करिब ३८० मिटर

    • चौडाइ: १२.८ देखि १६ किलोमिटर

    • कुल क्षेत्रफल: नेपालको करिब ४.५%


    ३. भित्री मधेश (दून क्षेत्र)

    चुरे र महाभारत पर्वतमालाबीच फैलिएको फाँटलाई भित्री मधेश वा दून क्षेत्र भनिन्छ ।

    • उचाइ: समुद्री सतहदेखि करिब ६१० मिटर

    • लम्बाइ: ३२ देखि ६४ किलोमिटर

    • चौडाइ: करिब १६ किलोमिटर

    • कुल क्षेत्रफल: नेपालको करिब ८.५%

    भित्री मधेशलाई चार भागमा बाँडिएको छ:

    • पूर्वी भित्री मधेश: उदयपुर र सिन्धुली उपत्यका

    • मध्य भित्री मधेश: मकवानपुर, चितवन, परासी (बर्दघाट सुस्ता पूर्व)

    • पश्चिमी भित्री मधेश: दाङ र देउखुरी

    • मध्यपश्चिम भित्री मधेश: सुर्खेत उपत्यका

Categories

  • Current Affairs 633
  • Gorkhapatra 308
  • Others 1030
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Detailed chronological table of educational history during the Rana period
Others

राणाकालीन शैक्षिक इतिहासको विस्तृत कालक्रमिक तालिका

  • May 26, 2026
  • 2628
The Fourth Five-Year Plan in the History of Nepal's Planned Development
Others

नेपालको योजनावद्ध विकासको इतिहासमा चौथो पञ्चवर्षीय योजना

  • May 26, 2026
  • 78
Historical development of the establishment of the United Nations
Others

संयुक्त राष्ट्र संघको स्थापनाको ऐतिहासिक विकासक्रम

  • May 26, 2026
  • 70
Titles of creators in the fields of Nepali literature, art, and music
Others

नेपाली साहित्य, कला र सङ्गीत क्षेत्रका स्रष्टाहरूका उपाधि

  • May 26, 2026
  • 1999
What is the Police Act, 2012? (Police Public Service Blog #3)
Nepal Police Others

के हो प्रहरी ऐन, २०१२? (प्रहरी लोकसेवा blog #3)

  • May 25, 2026
  • 58
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA