तामाङ जाति
आदिवासी जनजातिमा पर्ने तामाङ समुदायको बसोबास क्षेत्रलाई ताम्सालिङ भनिन्छ । तामाङ समाज थरका आधारमा दाजुभाइ र कुटुम्बीय सम्बन्धमा जोडिएर संगठित भएको पाइन्छ । यिनीहरूको घना बसोबास काठमाडौं उपत्यका तथा वरिपरिका जिल्लाहरूमा छ ।यिनीहरूको मातृभाषा तामाङ ग्योइ हो । तामाङ भाषाको लेखनका लागि तामहिग र सम्भोटा लिपि प्रयोग गरिन्छ । नेपालमा बोलीने भोट–बर्मेली भाषा परिवारका भाषामध्ये तामाङ भाषा सबैभन्दा धेरै जनसंख्याले बोल्ने भाषा हो । यो नेपालमा जनसंख्याका आधारमा पाँचौं ठूलो भाषा हो । तामाङ समुदाय हिमाली बज्रयानी बौद्ध धर्म मान्ने गर्छ । नेपालका कुल बौद्ध धर्मावलम्बीमध्ये करिब आधा जनसंख्या तामाङ समुदायका छन् । तामाङहरूले ल्हो छार (नयाँ वर्ष), बुद्धजयन्ती, गोने ड्या (भदौ पूर्णिमा), मंसिर पूर्णिमा आदि चाडपर्वहरू उल्लासपूर्वक मनाउँछन् । पर्व–उत्सवका अवसरमा सेलो, फाबर, म्हेन्दो माया, बोम्साड, साइकोले, छेर्लु जस्ता गीत–नृत्य प्रस्तुत गर्छन् । तामाङहरूको परम्परागत सामाजिक संस्था नाङखो र चोहो प्रणालीका रूपमा परिचित छ । ‘नाङखो र’ शब्दको अर्थ आपसी आदानप्रदान वा सहयोग भन्ने हुन्छ । ‘चोहो’ भनेको समाजले चुन्ने अगुवा वा मूली हो । चोहोले गाउँका गान्बा (भलाद्मी), उइमे (भद्र महिला), ताम्बा (जानिफकार व्यक्ति), लामा, बोन्बो र अन्य व्यक्तिहरूको सल्लाहमा सामाजिक व्यवस्था कायम गर्ने र न्याय निरूपण गर्ने काम गर्छ । तामाङहरूको मुख्य पेशा पशुपालन, कृषि, थाङ्का चित्रकला, र विभिन्न हस्तकलाका सामग्रीहरू निर्माण गर्नु हो ।