Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

मगर जाति

  • Bikash Shrestha
  • November 09, 2025
  • 732

मगर जाति

Magar caste

नेपालको जातिगत जनसंख्याका आधारमा तेस्रो ठूलो तथा आदिवासी जनजातिमध्ये पहिलो स्थानमा पर्ने मगर जातिको बसोबास देशका ७७ वटै जिल्लामा देखिन्छ। ऐतिहासिकरूपमा “मगरात” भनिने राप्ती र गण्डकी प्रदेश क्षेत्रलाई मगर जातिको मूल थलो मानिन्छ  लुम्बिनी र गण्डकी प्रदेशमा मगर समुदायको सघन बसोबास पाइन्छ । मगर जातिका आले, घर्ती, थापा, पुन, बुढा (बुढाथोकी), राना र रोक्का गरी प्रमुख ७ थर (घर) छन्। थर वा घर भनेको अन्तर-थर वैवाहिक सम्बन्धमा आधारित सामाजिक सञ्जाल हो । यी ७ थरहरू अन्तर्गत हजारौँ उपथरहरू बनेका छन् । भोट–बर्मेली भाषापरिवारअन्तर्गत मगर समुदायका तीन प्रमुख भाषाहरू छन् — मगर ढुट, मगर खाम र मगर काइके। मगर समुदायको जीवनचक्रसँग सम्बन्धित संस्कार तथा पूजाआजा पितृ र प्रकृतिपूजामा आधारित छन् । उनीहरूले तीन प्रकारका शक्तिहरूको पूजा गर्छन् —

  1. पितृशक्ति: पूर्वजहरू (बराह, बज्यूबराज्यू, कुलान, पिटर, सिद्ध, भैरम, भूँयर, बाई, सिमबाई, मण्डली, थानी, झाँक्री, सिम्मा, मायू, माई आदि),

  2. प्रकृतिशक्ति: भूम्या, बल, भूमे, सिमे भूमे, वनजङ्गल, खोलानाला, सिमसार, जलथल, हरिलो आदि,

  3. राजशक्ति: मगरातका मगर राजाहरू र राज्यसत्ताका प्रतीक कोट–मौला।

यी पूजाआजा वर्षे र हिउँदे बाली लगाउने र स्याहार्ने बेलामा गरिन्छ। मगरहरूले बडादसैं, मंसिरे पूर्णिमा, माघे सङ्क्रान्ति र वैशाख पूर्णिमामा कुल पितृपूजा गर्ने परम्परा राखेका छन् । शाहकालमा दरबारमा मगर पुजारीहरूको परम्परा थियो। हाल पनि गोर्खा दरबार, हनुमानढोका दशैंघर लगायत स्थानहरूमा मगर पुजारीहरूको व्यवस्था पाइन्छ। डोल्पा क्षेत्रका मगरहरूले पितृ र प्रकृतिसँगै बौद्ध धर्म पनि मान्ने गर्छन् । मगर समुदायमा आफ्नै मौलिक परम्परा अनुसार चेली–बेती (भान्जा, ज्वाइँ, छोरी, दिदीबहिनी) बाट संस्कार सम्पादन गराउने चलन छ । उनीहरूले मनाउने प्रमुख पर्वहरूमा — माघे सङ्क्रान्ति, श्रीपञ्चमी, यउनाट, छैगो, रुम्जे, चैती, चैते दसैं, उँभौलीभेजा (चण्डीपूर्णे, भूमे/भूम्या), साउने सङ्क्रान्ति, झाँक्री मेला, दसैं, तिहार, उँधौलीभेजा (मंसिरे भेझा), पुसे पन्ध्र, पितृपूजा, कोट–मौला पूजा, बराह पूजा आदि पर्छन् । यी पर्व, उत्सव र संस्कारहरूमा उनीहरूले विभिन्न गीत र नृत्य प्रस्तुत गर्छन् — यानीमाया, सुनिमाया, ठाडो भाका, सालैजो, झाम्रे, टप्पा, ख्याली, झोरा, चुड्का, ओहोली, ज्यानै, सरायँ, सारङ्या, पैस्यारु, देउसी–भैलो, मारुनी (सोरठी, सिङारु, गोपीचन, पुख्र्यौली नाच), घाँटु, जीवै मामा (ज्योमारे, कौह्रा, भूम्या, मयुर, सारङ्गे, हुर्रा आदि) । मगर जातिको परम्परागत सामाजिक संस्था “भेजा” भनिन्छ । इतिहासअनुसार मध्यकालसम्म मगर जातिले मगरात क्षेत्रमा राज्य सञ्चालन गरेका थिए। उनीहरू खानी व्यवसाय र सैनिक कलामा निपुण थिए। हाल मगर समुदाय कृषि, पशुपालन, हस्तकला, सुरक्षा सेवा, प्रशासन, शिक्षा तथा वैदेशिक रोजगारीजस्ता विभिन्न पेशामा संलग्न छन् ।

Categories

  • Current Affairs 566
  • Gorkhapatra 300
  • Others 956
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

World Book and Copyright Day, 2026
Current Affairs

विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस, २०२६

  • Apr 24, 2026
  • 0
31st Wildlife Week
Current Affairs

३१ औं वन्यजन्तु सप्ताह

  • Apr 24, 2026
  • 47
National Yak Day, 2083
Current Affairs

राष्ट्रिय याक दिवस, २०८३

  • Apr 24, 2026
  • 76
20th Democracy Day
Current Affairs

२०औँ लोकतन्त्र दिवस

  • Apr 24, 2026
  • 98
Description of the specialized agencies of the United Nations
Others

संयुक्त राष्ट्र सङ्घका विशिष्टीकृत संस्थाहरूको विवरण

  • Apr 23, 2026
  • 121
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA