Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सम्बन्ध बिच्छेद के हो ? नेपालको कानुनी ब्यवस्था र प्रक्रिया कस्तो छ ?

  • Ajnabee Khadka
  • October 16, 2023
  • 690

सम्बन्ध बिच्छेद के हो ? नेपालको कानुनी ब्यवस्था र प्रक्रिया कस्तो छ ?

सम्बन्ध बिच्छेद के हो ? नेपालको कानुनी ब्यवस्था र प्रक्रिया कस्तो छ ?

“सम्बन्धविच्छेद” भनेको श्रीमान श्रीमती बिचको बैवाहिक नाता सम्बन्धबाट दायीत्व रहित तवरले अलग हुने कानुनी आधार हो । यसलाई प्राचिन  समयमा पारपाचुके, छोडपत्र, भनिन्थ्यो भने परिस्कृत रुपमा सम्बन्ध बिच्छेद भन्ने गरिन्छ । यसलाई अंग्रेजिमा Divorce भनिन्छ भने नेपालमा पनि डिभोर्स भन्नेशब्द नै बढी प्रचलनमा रहेको पाईन्छ । नेपालमा सम्बन्ध बिच्छेदको अभ्यास प्रचिन समय देखि नै चलन चल्तीमा रहेको पाईन्छ । किनकी प्रचिन समयका नेपालीहरुले धर्ममा विस्वास राख्ने भए पनि बि.सं. १९१० को मुलुकी ऐनमा पनि यस सम्बन्धी ब्यवस्था रहेको र समय सापेक्ष परिष्कृत गरिएको नया मुलुकी ऐन २०२० मा पनि सम्बन्ध बिच्छेद सम्बन्धी ब्यवस्था सुधार गरी लागु गरिएको थियो । नेपालको कानुनी ब्यवस्थालाई नियाल्दा महिला र पुरुषले स्वतन्त्रताको अधिकारको अभ्यास गर्न पाएको भन्ने तथ्य सजिलै अनुमान गर्न सकिन्छ, किनकी सम्बन्ध बिच्छेद गर्नु भनेको आफ्नो स्वतन्त्रताको अभ्यास गर्नु पनि हो । सम्बन्ध बिच्छेद गर्दा श्रीमान वा श्रीमतीको सामाजिक, मानसिक तथा शारीरिक अवस्था माथि आई पर्ने आकस्मीक समस्याबाट बच्न सकिन्छ । त्यसै गरी श्रीमान श्रीमती बिचको पारिवारिक द्वन्द तथा तनावबाट मुक्ती पाई स्वतन्त्र जीवन यापन गर्न सहज वातावरण बनाउन सहयोग गर्दछ ।  

मुलुकी देवानी संहिता २०७४ मा सम्बन्ध विच्छेद सम्बन्धी कानुनी ब्यवस्थाहरु 

पतिले सम्बन्ध विच्छेद गर्न सक्नेः (दफा ९४)

(क) कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,

(ख) पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,

(ग) पत्नीले पतिको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा,

(घ) पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा । 

पत्नीले सम्बन्ध विच्छेद गर्न सक्नेः (दफा ९५)

(क) कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,

(ख) पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,

(ग) पतिले पत्नीको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा,

(घ) पतिले अर्को विवाह गरेमा,

(ङ) पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा,

(च) पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा । 

अंश सम्पती माथिको अधिकार 

दफा ९९ सम्बन्ध विच्छेद गर्नु अघि अंशबण्डा गर्नु पर्नेः 

(१) पतिको कारणबाट पति पत्नी बीच सम्बन्ध विच्छेद हुने अवस्थामा पत्नीले माग गरेमा सम्बन्धित अदालतले सम्बन्ध विच्छेद गर्नु अघि पति पत्नी बीच अंशबण्डा गर्न लगाउनु पर्नेछ ।

(२) दफा ९५ को खण्ड ख, ग, घ, ङ वा च बमोजिमको आधारमा पत्नीले सम्बन्ध विच्छेदको लागि निवेदन गरेकोमा उपदफा (१) को प्रयोजनको लागि पतिको कारणबाट सम्बन्ध विच्छेद हुने अवस्था भएको मानिने छ ।

(३) सगोलको सम्पत्ति पति पत्नी दुवैको नाममा वा पति पत्नीमध्ये कुनै एकको नाममा रहेछ भने सम्बन्ध विच्छेद हुनु अघि निजहरू बीच कानून बमोजिम त्यस्तो सम्पत्तिको अंशबण्डा गर्नु पर्नेछ ।

(४) सम्बन्ध विच्छेद हुने पतिले नै बाबु वा अन्य अंशियारबाट अंश लिई नसकेको भए अदालतले दुवै पक्षबाट अंशियार खुलाउन लगाई र अंशबण्डा गर्ने अन्य अंशियार भएमा त्यस्ता अंशियारलाई समेत बुझ्नु पर्ने भए बुझी निजहरूबाट अंशको फाँटवारी माग गरी पति पत्नीको अंश छुट्याई अंशबण्डा गराई दिनु पर्नेछ ।

(५) उपदफा (१), (३) वा (४) बमोजिम अंशबण्डा गर्दा लामो समय लाग्ने देखिएमा अदालतले पति पत्नी बीच सम्बन्ध विच्छेद गरी अंशबण्डा नभएसम्मको लागि पतिको सम्पत्ति र आयस्ताको आधारमा पतिबाट पत्नीलाई मासिक खर्च भरार्ई दिन सक्नेछ ।

तर त्यसरी अंशबण्डा नहुँदै त्यस्ती महिलाले अर्को विवाह गरेमा अंश पाउने छैन ।

(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा ९४ को खण्ड ख, ग वा घ बमोजिमको आधारमा सम्बन्ध विच्छेदको लागि निवेदन गरेकोमा पत्नीलाई यस परिच्छेद बमोजिम अंश दिन वा खर्च भराउन पति बाध्य हुने छैन ।

दफा १०० एकमुष्ठ रकम वा खर्च भरार्ई दिन सक्नेः दफा ९९ मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्ध विच्छेद हुने पत्नीले अंश नलिई पतिसँग एकमुष्ठ रकम वा वार्षिक वा मासिक रकम वा खर्च भरार्ई लिन चाहेमा अदालतले पतिको सम्पत्ति वा आम्दानीको आधारमा त्यस्ती पत्नीलाई एकमुष्ठ रकम दिलाई दिन वा वार्षिक वा मासिक रूपमा रकम वा खर्च भराई दिन सक्नेछ ।

तर त्यस्ती पत्नीले अर्को विवाह गरेमा त्यस्तो रकम वा खर्च दिनु पर्ने छैन ।

दफा १०१ खान लगाउने खर्च भरार्ई दिन सक्नेः दफा ९९ बमोजिम अंशबण्डा गर्नु पर्दा कुनै सम्पत्ति नभई पतिबाट अंश नपाएकी पत्नीले पतिबाट खान लाउन खर्च भराउन चाहेमा र पतिको आम्दानी भएमा अदालतले त्यस्ती पत्नीलाई सम्बन्ध विच्छेद भएको पतिको आम्दानीको आधारमा खान लगाउने खर्च भरार्ई दिन सक्नेछ ।

तर,

(१) त्यस्ती पत्नीले अर्को विवाह गरेमा त्यस्तो खर्च दिनु पर्ने छैन ।

(२) पतिको भन्दा पत्नीको आम्दानी बढी भएमा त्यस्तो खर्च दिनु पर्ने छैन ।

दफा १०२ सहमति बमोजिम हुनेः यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पति पत्नी बीच सम्बन्ध विच्छेद हुँदा पत्नीले पाउने अंश वा खर्चको सम्बन्धमा पति पत्नी बीच कुनै लिखित सहमति भएकोमा सोही बमोजिम हुनेछ ।

तर नाबालकको हित विपरीत हुने गरी कुनै सहमति गर्न सकिने छैन ।

दफा १०३ अघिल्लो सन्तान वा पतिले सम्पत्ति पाउनेः सम्बन्ध विच्छेद गरेकी महिलाको मृत्यु भएमा निजको सम्पत्ति निजका छोरा, छोरी भए त्यस्ता छोरा, छोरीले र छोरा, छोरी नभए पूर्व पतिबाट पाएको सम्पत्ति त्यस्ता पतिले र अन्य सम्पत्ति माइतीपट्टिका हकवालाले पाउनेछ ।

 बच्चाको अवस्था के हुने ? 

 कानून बमोजिम पति पत्नी भिन्न भएमा निजहरूको कुनै नाबालक भए त्यस्तो नाबालकको पालनपोषण, शिक्षा र उपचारको व्यवस्थाको सम्बन्धमा पति पत्नी बीच कुनै सहमति भएकोमा सोही बमोजिम र त्यस्तो सहमति नभएकोमा देहाय बमोजिम हुनेछः–

क) पाँच वर्ष पूरा नगरेको नाबालक भए आमाको जिम्मा,

ख) पाँच वर्ष वा सोभन्दा माथि दश वर्ष पूरा नभएको नाबालक भए बाबुको जिम्मा,

ग) दश वर्ष पूरा गरेको नाबालक भए निजले आमा, बाबुमध्ये जोसँग बस्न मञ्जुर गरेकोछ निजको जिम्मा ।

मुलुकी देवानी कार्यविधि संहिता २०७४ अनुसार सम्बन्ध विच्छेद गर्ने कार्यविधिः—

 १. कानुन बमोजिम हकदैया र हदम्याद 
कानुन बमोजिम हकदैया भनेको अन्याय÷असर परेको ब्यक्तिलाई मात्र कानुन बमोजिम मुद्दा गर्ने आधिकार हुन्छ भन्ने सिद्धान्त हो । सम्बन्ध बिच्छेद मुद्दामा मुद्दा गर्ने हकदैया पति वा पत्नीलाई बाहेक अरुलाई हुदैन । तसर्थ मुद्दा गर्नु पर्ने कारण परेको ब्यक्ति (कारणी) आफै वा कानुन बमोजिमको वारेशले सम्बन्ध बिच्छेद मुद्दा दर्ता गर्न पाउछ । त्यसै गरी हदम्याद भन्नाले मुद्दा गर्नु पर्ने कारण परेको ब्यक्तिले कानुनले तोकेको म्याद भित्र उजुरगरी सक्नुपर्छ भन्ने हो । सम्बन्ध बिच्छेद मुद्दामा ३ महिनाको मात्र हदम्याद रहेको छ । 
२. क्षेत्राधिकार भएको जिल्ला अदालतमा फिराद पत्र दर्ता
वादी वा प्रतिवादीको बसोवास भएको क्षेत्र र कार्य सम्पन्न भएको क्षेत्र भित्रको मुद्दा हेर्ने अधिकार सम्बन्धीत जिल्ला अदालतलाई हुन्छ । तसर्थ सम्बन्ध बिच्छेद मुद्दा पति वा पत्नीको स्थायी ठेगाना रहेको जिल्ला अदालतमा दर्ता गर्न सकिन्छ । साथै अस्थायी बसोवास भएको जिल्ला अदालतमा पनि मुद्दा दर्ता गर्न सकिन्छ । फिराद पत्र भनेको वादीले आफुलाई अन्याय परेको विषयमा कानुन बमोजिम उपचार माग गर्ने माग पत्र हो । सम्बन्ध बिच्छेद मुद्दामा पति वा पत्नीले माथि उल्लेख गरे बमोजिमको आघार प्रमाण सहित सम्बन्धीत जिल्ला अदालतमा फिराद गर्नु पर्छ । सम्बन्ध बिच्छेदको फिराद पत्र दर्ता गर्दा आबश्यक पर्ने कागजातहरुः— 

क. नागरिकताको प्रमाण पत्र……………………………………………………..१

ख. हालसालै खिचेको पासपोर्ट साईजको फोटो २ प्रति…………………………१ 

ग. यदि अस्थायी बसोवास भएमा सम्बन्धीत स्थानीय निकायको सिफारिस …..१

घ. सम्पती दावी गर्ने भएमा सम्पतीको विवरण ………………………………..१

ङ. कानुन बमोजिमको ढाँचामा फिरादपत्र………………………………………..१

च. वारेश नियुक्त गरेको भएमा वारेशनामाको सक्कल कागज …………………१

छ. अदालती दस्तुर ………………………………………………………………..१ 

३. विपक्षीलाई म्याद तामेली
फिरादकर्ताले फिरादपत्र दर्ता गरे पश्चात् विपक्षीलाई अदालतले उक्त फिराद पत्रको जानकारी सहित फिरादको सम्बन्धमा प्रतिवाद गर्न २१ दिनको म्याद दिन्छ । म्याद तामेल गर्ने कार्यविधि धेरै किसिमका हुन्छन्, जस्तै बादीले तामेल गर्ने, कानुन ब्यवसायी मार्फत तामेल गर्ने, अदालतले म्याद तामेल गर्ने, अड्डाको रोहवरमा म्याद तामेल गर्ने, ईमेल मार्फत म्याद तामेली गर्ने, राष्ट्रिय दैनिक पत्रिकामा म्याद तामेलि गर्ने आदी । विपक्षीले म्याद प्राप्त गरेको २१ दिन  भित्र प्रतिवाद गर्न नसकेमा १५ दिन म्याद थप्न पाईन्छ ।    
४. विपक्षीको प्रतिवाद
फिरादीले मागदावी गरेको सम्बन्धमा खण्डन गरी वा सहमति जनाई अदालत समक्ष प्रतिवाद गर्नु पर्ने हुन्छ । यसलाई प्रतिउत्तर पत्र भनिन्छ । प्रतिवादीले प्रतिउत्तर पेश गर्दा आवश्यकता अनुसार प्रतिदावी पेश गर्न पनि पाईन्छ । सम्बन्ध बिच्छेद मुद्दामा अंश सम्पतीमा दावी गरी वा नगरी तथा सम्बन्ध बिच्छेद हुने गरी वा नहुने गरी प्रतिवाद गर्न सकिन्छ ।     
५. प्रमाण मुकरर
मुद्दामा प्रतिवादीको प्रतिउत्तर परे पश्चात अदालतले अन्य प्रमाणहरु पेश गर्न वादी प्रतिवादीको नाममा आदेश गर्नुपर्ने हुन्छ । यसरी आदेश गर्दा फिराद मागदावी र प्रतिउत्तर जिकिरसंग सम्बन्धीत प्रमाण तथा वादी प्रतिवादीहरुको साक्षी बकपत्र तथा अन्य अंशियारहरु खुलाउने समेतको आदेश हुन्छ । सो आदेश बमोजिमको प्रमाणहरु वादी प्रतिवादीले पेश गर्नु पर्ने हुन्छ ।  
६. मेलमिलापबाट विवाद समाधान
देवानी प्रकृतिको विवादमा पक्षहरु बिच मेलमिलापको माध्यमबाट विवादको समाधान खोज्न अदालतबाट आदेश हुन्छ । सम्बन्ध बिच्छेद मुद्दामा पति पत्नी बिच मेलमिलाप गर्न अधिकतम प्रयास गर्नु पर्छ, मेलमिलाप हुने संभावना नभएको खण्डमा प्रतिवादी हाजिर भएको १ वर्ष ब्यतित भए पश्चात् सम्बन्ध बिच्छदको मुद्दा फैसलागर्न योग्य भएको मानिन्छ । 
७. सम्पतिको तायदाती फाटवारी तथा आयस्रोत विवरण माग
मेलमिलाप हुने संभावना नभएको खण्डमा फिराद मागदावी र प्रतिउत्तर जिकिरसंग सम्बन्धीत अंश सम्पतीको फाँटवारी माग गर्ने र ब्यक्तिगत आयस्रोत समेत माग गर्ने आदेश अदालतले गर्ने छ । यसरी अदेश गर्दा पत्नीलाई अंश खान लगाउन खर्च पतिबाट भराई दिन सहज हुन्छ भन्ने मान्यता रहेको छ । यसरी माग गरेको फाँटवारी मुद्दाका पक्षले अनिवार्य पेशगनु पर्नेछ, यदि पेश नगरी लुकाई छिपाई राखेको ठहरेमा पछि अंश दपोट मुद्दाबाट लुकाउनेको भाग नलगाई अन्य अंशियारले लिन पाउछ ।  
८. फैशला 
९. फैशला कार्यान्वयन

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1135
  • Vacancy 1
  • Past Questions 119
  • Nepal Police 8

Latest Blogs

Karnali Province, A.E.W., Fourth Level - 2081/03/15
Past Questions

कर्णाली प्रदेश, अ.हे.व., चौथो तह - २०८१/०३/१५

  • Aug 07, 2026
  • 73
Largest and smallest countries of each continent
Others

महादेश र तिनका सबैभन्दा ठुलो र सानो देश

  • Aug 06, 2026
  • 96
Major mountain ranges of the world
Others

विश्वका प्रमुख पर्वतमालाहरु

  • Aug 06, 2026
  • 100
Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 60
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 82
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA